मेचीनगर, फागुन ६ । यसै आर्थिक वर्षभित्र तीनवटा वडा कार्यालयको आफ्नै भवन बनाउने लक्ष्यका साथ अघि बढेको मेचीनगर नगरपालिकाले विहीबार वडा नम्बर ८ को वडा कार्यालय भवनको शिलान्यास गरेको छ ।

आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी १ करोड २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको भवनको नगरपालिका प्रमुख विमल आचार्यले शिलान्यास गरे । उनले भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने बिश्वास व्यक्त गरे । उनले क्रमिकरुपमा नगरभित्रका सबै वडा कार्यालयको भवन निर्माण हुने बिश्वास दिलाए ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाले सेवाग्राहीको भावनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । स्थानीय जग्गादाता चन्द्रबहादुर बस्नेतले प्रतिभा टोलमा रहेको करिब ६० लाख रुपैयाँ मूल्य बराबरको चार कठ्ठा जग्गा भवन निर्माणका लागि निःशुल्क उपलब्ध गराएका थिए । रामेछाप पाँचपोखरी जटेश्वर जेवी कम्पनीले वडा कार्यालयको निर्माण ठेक्का लिएर काम अगाडी बढाएको छ । तोकिएको समयमा निर्माण कार्य सम्पन्न गरिसक्ने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर सांग्रिला लामाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्