झापा , फागुन ७ । कनकाई नगरपालिकाको चम्पापुर माध्यमिक विद्यालयमा शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु भएको घटनाप्रति राष्ट्रिय बाल अधिकार परिषदले चासो देखाएको छ ।

मृतक विद्यार्थी

कन्काई ६ स्थित चम्पापुर माविका शिक्षक रविन मगरले कुटपिट गर्दा सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय विद्यार्थीको मृत्यु भएको हो । विद्यालयको कार्यालय सहायक पदमा कार्यरत २७ वर्षिय मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ १८ गते अमिलाल राजवंशीका १० वर्षीय छोरा कृष्णप्रसाद राजवंशीलाई कुटपिट गरेका थिए । शिक्षकको कुटाईबाट विद्यार्थीको कान सुन्निएपछि उपचारका लागि तत्काल स्थानीय मेडिकल पु¥याइएको थियो ।

त्यसपछि बालकलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि बिराटनगरस्थित नोवल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनापश्चात् पीडित परिवारले मगरमाथि किटानी जाहेरी दिएका छन् भने प्रहरीले पक्राउ गरी मगरमाथि कानुनी कार्वाही अघि बढाएको छ । राष्ट्रिय बाल अधिकार परिषदले शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु भएको कनकाईको घटनालाई गंभीरतापूर्वक लिएको परिषदका १ नं प्रदेश समन्वय अधिकारी सुमन अधिकारीले बताए ।‘ हामीले त्यस घटनालाई फलो गरिरहेका छौं’उनले भने,‘दोषी कुनै पनि हालतमा उम्किनु हुँदैन ।’ आफूहरुले प्रहरी प्रशासनसँग पनि घटनाको निश्पक्ष छानबिन गरी दोषीमाथि कार्वाही गराउनका लागि पहल गरिरहेको अधिकारीले जानकारी दिए । राष्ट्रिय बाल अधिकार परिषदले कनकाई नगरपालिकाको त्यो घटनासँगै कमल गाउँपालिकाको अर्को घटनाप्रति पनि चासो देखाएको छ । परिषदमा झापाका दुईवटा उजुरी दर्ता भएको जनाइएको छ । कमल ३ स्थित शहीद धर्मभक्त माविका शिक्षकले विद्यालयका छात्रालाई यौन दुव्र्यवहार गरेको घटनाप्रति पनि परिषदले चासो राखेको हो । त्यस घटनामा संलग्न सोही विद्यालयका शिक्षक शालिकराम पोखरेललाई पक्राउ गरी प्रहरीले कानुनी कार्वाही अघि बढाएको छ । उनी हिरासतमा छन् । ती दुवै घटनाको तथ्य पत्ता लगाउने प्रयास भइरहेको परिषदका अर्का कर्मचारी वासु अधिकारीले बताए । ‘हामी फ्याक्ट फाइन्डिङ गरिरहेका छौं’उनले भने ,‘दोषीमाथि कार्वाही गराएरै छाड्छौं ।’

परिषदले बालबालिकासँग सम्बन्धित घटनाहरुको लागि बाल हेल्पलाइन १०९८ को व्यवस्था गरेको छ । सिधै आउने फोन कल र विभिन्न संचारमाध्यमको समाचारलाई आधार मानेर परिषदले घटना दर्ता गर्ने गरेको जनाएको छ । बालबालिकासँग सम्बन्धित घटना दर्ता गर्नका लागि देशभरि १८ वटा हेल्पलाइन संचालन गरिएका छन् ।जसमध्ये १ नं प्रदेशमा ५ वटा हेल्पलाइन संचालनमा रहेको अधिकारीले जानकारी दिए । उनका अनुसार पहिला १२ वटा रहेकोमा ६वटा थप गरिएको हो । राष्ट्रिय बाल अधिकार परिषदले बाल संरक्षणको लागि काम गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्