दमक, फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने आदेश दिएलगत्तै झापाका विभिन्न स्थानसहित देशैभरि खुशियाली मनाइएको छ ।

नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ता तथा सर्वसाधारण नागरिकले प्रतिगमनको पराजय भएको भन्दै खुशियाली मनाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर चौक दमकमा नेकपा प्रचण्ड –माधव समूहसंगै जनता समाजवादी पार्टीले एकैसाथ सर्वोच्चको फैसलाप्रति खुशियाली मनाउँदै दीप प्रज्ज्वलन गरेका छन् । दुवै पार्टीका कार्यकर्ताहरुसहित स्थानीयहरुले बाक्लो उपस्थितिमा दीप प्रज्ज्वलन गरी खुशियाली मनाएका छन् । प्रचण्ड– माधव समूहका युवाहरुले मैनबत्ती बालेर नेपालको झण्डा फहराउँदै खुशी व्यक्त गरेका छन् ।
सर्वोच्चको फैसला संविधान सच्याउन तथा नेपाली जनताको पक्षमा भएको भन्दै सहभागीहरुले दीप प्रज्जवलन गरी खुशियाली मनाएको नेकपा प्रचण्ड –माधव समूहका दमक नगर कमिटीका सचिव तिर्थराज बस्नेत (शंकर ) ले बताए ।
यस्तै सर्वोच्चको फैसलाको खुशियालीमा कमल– ५ स्थित पाडाजुंगीका युवा व्यक्तित्व एलवी विष्टले आफनै घरमा दीप प्रज्ज्वलन गरी खुशियाली मनाएका छन् ।यस्तै कमलका विभिन्न वडामा पनि पनि खुशियाली मनाईएको छ । त्यस्तै झापाको बिर्तामोड , मेचीनगर , बाह्रदशीलगायतका ठाउँमा पनि हिजो साँझ दीप प्रज्ज्वलन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्