बिर्तामोड , फागुन १७ । मनकामना काली मन्दिर तथा सत्सङ्ग भवन समितिले काली मन्दिर निर्माण कार्यलाई तिव्रता दिने भएको छ ।

बिर्तामोड –१० विराटपोखरस्थित काली मन्दिर निर्माणस्थल परिसरमा सम्पन्न एक भेलाका वक्ताहरुले दाताको भावनाअनुसार काली मन्दिर बनाई छाड्ने प्रतिबद्धता जनाएका हुन् ।
मनकामना काली मन्दिर तथा सत्संग भवन समितिका अध्यक्ष धार्मिक अभियन्ता ध्रुवकुमार शिवाकोटीले विशुद्ध धार्मिक तथा सामाजिक उद्देश्यले स्थापित यस संस्थाले उद्देश्यअनुरुप मन्दिर तथा सत्संग भवन निर्माण कार्य तीव्रताका साथ अघि बढाउने बताए । उनले समावेशी सत्संग भवन निर्माणका लागि पनि पहल शुरु गरिने बताए । यसका लागि दाता रमेश खरेलबाट एक कट्ठा जग्गा प्राप्त भइसकेको जानकारी दिए ।
स्थानीय रमेश पाठकले आफ्ना दिवंगत पिता हरिप्रसाद पाठकको स्मृतिमा १५ धुर जग्गा प्रदान गरेका थिए । समितिले पाँच धुर खरीद गरी संस्थाको नाममा दर्ता भएको एक कठ्ठा जग्गामा गत वर्ष नै मन्दिर निर्माणको शिलान्यास गरिएको भएपनि मन्दिर निर्माण कार्य अघि बढ्न सकेको छैन । बद्रीबारीस्थित दाता रमेश खरेलबाट सत्संग भवन निर्माणार्थ प्राप्त जग्गा संस्थाको नाममा दर्ता हुन बाँकी छ ।
निकट भविष्य हुन गइरहेको साधारणसभा पश्चात् आवश्यक आर्थिक स्रोत जुटाई रोकिएको मन्दिर निर्माण कार्य अघि बढाएर सम्पन्न गरिने र त्यसका लागि पूर्व सर्त एवम् संकल्पबाट संस्थाका कोही उम्कन नसक्ने बताउँदै अध्यक्ष शिवाकोटीले प्रभावकारी भूमिका निर्वाहका लागि नेतृत्व प्रतिबद्ध रहेको बताए । उनले १५ वर्ष अघिदेखि स्थापित स्थानीय मनकामना समूह तथा मनकामना कीर्तन मण्डलीलाई वैधानिकता प्रदान गर्न केही संशोधन मात्र गरिएको धारणा राख्दै १५ वर्ष पहिलेदेखिको मनकामना समूहको योगदानको परिणामस्वरुप दाताहरुले विश्वास गरेको उल्लेख गरे ।
समितिका सचिव हरिप्रसाद सिटौलाले मनकामना समूह नै वर्तमान समितिमा परिणत भएकाले समूह तथा कीर्तन मण्डली संस्थाको विधान अनुसार आबद्ध भएर गतिविधिमा क्रियाशील बन्न आग्रह गरे। सामाजसेवी तथा पूर्व उपसचिव भीष्म चुडालले हुनेले हाती दान गर्नुभन्दा नहुनेले कुखुरा दान गर्नु अझ महत्वपूर्ण हुने भएकाले सबैले यथासक्य योगदान गरी थालेको कार्य सम्पन्न गर्न एकचित्त भएर लाग्नुपर्नेमा जोड दिए । भेलामा समितिका सदस्य मिलन आले,मनकामना कीर्तन मण्डलीका अध्यक्ष जय पराजुली, सचिव नवीन सेढाईं, मण्डलीका राम खनाल, गोपाल सिटौला,अर्जुन तामाङलगायतले आफ्नो धारणा राखेका थिए । संस्थाका अध्यक्ष शिवाकोटीको अध्यक्षतामा भएको कार्यकमको सहजीकरण सचिव हरिप्रसाद सिटौलाले गरेका थिए । संस्थाले दान गरेको लाखौको जमिनमा निर्माण कार्य अलपत्र परेको र दाताको गुनासो तथा असन्तुष्टिलाई समेटेर समाचार यसअघि प्रतिदिन दैनिकले प्रकाशित गरेको थियो ।



