झापा ,फागुन २० । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, झापाले भूमि समस्या समाधान आयोगले गर्ने कार्यतालिकाको विवरण उपलव्ध गराउन आग्रह गरेको छ ।

बुधबार भद्रपुरस्थित आयोगको कार्यालय पुगेर मञ्चका पदाधिकारीहरुको टोलीले जिल्लाका सुकुम्बासीहरुको चासोको बिषय रहेको भन्दै आयोगले गर्ने कार्यतालिकाको विवरण उपलव्ध गराउन आग्रह गरेको हो ।
मञ्चका अध्यक्ष अर्जुनकुमार लिम्बुको नेतृत्वमा पुगेको टोलीले भूमिहीन तथा सुकुम्बासी किसानहरुले बिद्यमान भोगिरहनु परेको समस्याका बारेमा आयोगका अध्यक्ष प्रेम गिरीको ध्यानाकर्षण गराएको छ ।
साथै जिल्लामा भूमिहीन किसानहरुको अवस्था र उनीहरुको समस्या संबोधनका लागि निर्माण भएका ऐन,नियमहरुको फेहरिस्तका बारेमा समेत टोलीले अध्यक्ष गिरीसँग अन्तक्र्रिया गरेको थियो । सो क्रममा अध्यक्ष गिरीले आफू सधै किसानहरुको साथमा रहेको भन्दै बर्षौदेखि भोगचलन गरिरहेको जग्गा उनीहरुले नै पाउनुपर्ने धारणा राखे ।
२०६६ साल चैत्र २६ गते जिल्लामा गठन भएको मञ्चले भूमि अधिकारबाट बञ्चित किसानहरुको पक्षमा आवाज उठाउँदै आएको जिल्ला सदस्य ज्ञान बहादुर मगरले जानकारी दिए ।
भूमि समस्यासम्बन्धी आयोगले पहिलो चरणमा जिल्लाका ९ स्थानीय तहसँग समझदारी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्