बिर्तामोड , फागुन २१ । वीरता लेडी जेसीजले पहिलोपटक उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरेको छ ।

वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरुको सक्रियतामा यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसमा प्रदान गर्नेगरी उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरेको हो । वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको परिकल्पना अनुसार यस वर्षदेखि उत्कृष्ट नारी सम्मान कार्यक्रमको थालनी गरिएको बताइएको छ ।

झापामा रहेर सामाजिक कार्यमा सक्रिय एक जना महिलालाई उत्कृष्ट नारी घोषणा गरी आगामी फागुन २३ गते १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उत्कृष्ट नारी सम्मान गरिने वीरता लेडी जेसीजकी अध्यक्ष सिटौलाले बताइन् । झापा जिल्लामा असल र उत्कृष्ट काम गर्नेलाई प्रेरित गर्न तथा अरुलाई पनि त्यस्तै कार्यका लागि सकारात्मक प्रेरणा प्रदान गर्न वीरता लेडी जेसीजले उत्कृष्ट नारीको चयन गरी यस वर्षदेखि सम्मान गर्न शुरु गरेको उनले बताइन् । यस बर्ष उत्कृष्ट नारी सम्मानका लागि ‘समाजसेवा’ विधा चयन गरिएको बताउँदै अध्यक्ष सिटौलाले उक्त विधाअन्तर्गत रहेर जिल्लामा विशेष योगदान पु¥याउने महिलालाई उत्कृष्ट नारी घोषणा गरी स्वर्ण पदक सम्मान–पत्रद्वारा सम्मान गर्ने जानकारी दिइन् । विभिन्न फरक – फरक विधामा सक्रिय महिलालाई उत्कृष्ट नारी घोषणा गरी प्रत्येक वर्षको अन्तर्राष्ट्रिय नारी दिवसका दिन उत्कृष्ट नारी सम्मान गरिने उनले बताइन् । आगामी फागुन २३ गते हुने उत्कृष्ट नारी सम्मान कार्यक्रमको संयोजकको जिम्मेवारी वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाललाई दिइएको छ ।

वीरता लेडी जेसीजकी अध्यक्ष सिटौलाको अध्यक्षतामा बसेको कार्यसमिति र पूर्व अध्यक्षहरुको वैठकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गर्नुका साथै उत्कृष्ट नारी सम्मान छनौट समिति समेत गठन गरेको छ । नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीको संयोजकत्वमा गठित छनौट समितिमा सञ्चारकर्मी कुमार भट्टराई र वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवाल सदस्य रहेका छन् । यही फागुन २३ गते बिर्तामोडस्थित इन्द्रेणी व्यांक्वेटमा हुने उत्कृष्ट नारी सम्मान कार्यक्रमलाई झापावासीको साझा र उत्कृष्ट कार्यक्रम बनाउन धेरैभन्दा धेरै महिलाका संघसंस्थालाई सहभागिताका लागि वीरता लेडी जेसीजकी अध्यक्ष सिटौलाले आग्रह गरेकी छिन् । यसैबीच वीरता लेडी जेसीजले सुरु गरेको जेसी अफ द मन्थ अवार्डअन्तर्गत फेबु्रअरी महिनाको अवार्ड उपाध्यक्ष उमा पाण्डे (रोजिना) लाई प्रदान गरिएको छ ।
आफै संयोजक बनेर सामाजिक कार्य गरेको र जेसीजका हरेक गतिविधिमा सक्रिय सहभागिता जनाएकोले पाण्डेलाई उक्त अवार्ड प्रदान गरेको अध्यक्ष सिटौलाले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्