दमक , फागुन २१ । तुलसा देवी न्यौपाने स्मृति पुरस्कारबाट दमक ७ स्थित पृथ्वी माध्यमिक विद्यालयका १० जना विद्यार्थी पुरस्कृत भएका छन् ।

दमक ६ का न्यौपाने परिवारबाट स्थापना भएको सो कोषबाट विद्यालयका विपन्न समुदायका साथै जेहेन्दार १० जना विद्यार्थीहरुलाई जनही ३ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको अक्षय कोषका संस्थापक डा.लेखनाथ न्यौपानेले जानकारी दिए ।
साहित्य कला संगम दमकले विहिबार विद्यालयमा एक कार्यक्रम गरी कोषमार्फत ती विद्यार्थीहरुलाई पुरस्कृत गरेको हो । पुरस्कार दमक वडा नम्बर ७ का वडा अध्यक्ष भिम पौडेल र दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले वितरण गरेका थिए । सो अवसरमा अक्षयकोषका संस्थापक डा. न्यौपानेले विद्यालयको पुस्तकालयका लागि विभिन्न प्रकारका २२ वटा पुस्तक र विद्यालयलाई प्राथमिक उपचार बक्स समेत हस्तान्तरण गरेका थिए ।
स्वर्गीय माता तुलसा देवी न्यौपानेको स्मृतिमा स्थापना भएको कोषबाट यसअघि दमक २ स्थित हिमालय माध्यमिक विद्यालयका १ जना शिक्षक र १० जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । हरेक बर्ष जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिंदै आएको र कोषमा परिवारका तर्फबाट थप रकम जम्मा गरी १० लाख रुपैयाँ पुग्न लागेको पनि संस्थापक डा. न्यौपानेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्