झापा,फागुन २२ । इलामको सूर्योदय नगरपालिका, वडा नं १४ को बर्दुस्थिति सरकारी विद्यालय बुद्ध माविमा शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

सुर्योदय नगरपालिकाको अलिविकट मानिने सो क्षेत्रमा रहेको होराइजन बर्दु भ्याली टी इण्डष्ट्रिजको आयोजना र बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । शिविरबाट झण्डै दुई सय विद्यार्थी र डेढ सयजति अभिभावक लाभान्वित भएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तामाङको अध्यक्षतामा आयोजित संंक्षिप्त समारोहकाबीच सूर्योदय नगरपालिका वडा नं १४ का वडाध्यक्ष नरबहादुर सुवेदीले शिविरको उद्घाटन गरेका थिए ।
कक्षा ५ सम्म अंग्रेजी माध्यम र कक्षा ६ देखि १० सम्म नेपाली माध्यममा पठनपाठन भइरहेको सो विद्यालय परिसरमा आँखा जचाउन दुई घण्टासम्मको पैदल यात्रा गरेर अभिभावकहरु आएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पौडेलले बताए । लामो समयपछि विद्यालयमा पहिलोपटक यस किसिमको स्वास्थ्य शिविर आयोजना भएको बताउँदै प्रधानाध्यापक पौडेलले त्यसका लागि आयोजक संस्था र बिर्तामोड आँखा अस्पताललाई धन्यवाद दिए ।
आँखा परीक्षण गर्नेक्रममा ३ जना विद्यार्थी र १२ जना अभिभावकमा मोतियाविन्दू देखिएको र थप उपचारका लागि बिर्तामोड आँखा अस्पतालमा आउन सुझाव दिइएको सो अस्पतालका दृष्टि विशेषज्ञ रजक खानले जानकारी दिए । कार्यक्रममा औषधिसमेत वितरण गरिएको थियो ।
सोही अवसरमा विद्यार्थीको ब्लड ग्रुप पनि छुट्याइएको प्रधानाध्यापक पौडेलले बताए ।
शिक्षक ओमभक्त अधिकारीले सञ्चालन गरेको उद्घाटन समारोहमा शिक्षक गुरुप्रसाद पाठकले स्वागत गरेका थिए ।
सोही अवसरमा सामाजिक संस्था वीरता जेसीजले त्यहाँका विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो । वीरता जेसीजले अंग्रेजी सिकाइका पाठ्यसामग्री र कपी–कलम, पेन्सिललगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो । वीरता जेसीजका अध्यक्ष राजिव धिमालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
शिविरमा नेत्र अधिकृत भरत सापकोटाको नेतृत्वमा १० जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको विद्यालयका अध्यक्ष तामाङले जानकारी दिए ।
२०४१ सालमा स्थापित उक्त विद्यालयमा दूरदराजका विपन्न परिवारका विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । विद्यालयले विद्यार्थीको पोशाक निजी विद्यालयको जस्तै बनाएको र साना कक्षाका विद्यार्थीलाई दिवा खाजासमेतको व्यवस्था गरेका कारण विद्यार्थीको आकर्षण बढ्दै गएको प्रधानाध्यापक पौडेलको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्