झापा, फागुन २२ । यस वर्ष पनि झापाको बिर्तामोडमा ‘झापा जिल्लास्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित गत वर्षबाट शुरु भएको व्याडमिन्टन प्रतियोगिता यस वर्ष पनि फागुन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने बिर्तामोडमा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको छ । प्रतियोगिता लायन्स क्लव अफ अनारमनीको आयोजनामा हुन लागेको हो ।
प्रतियोगितामा खुल्लातर्फ ३२ र भेट्रानतर्फ २३ टिम सहभागी रहने लायन्स क्लव अफ अनारमनीका तृतीय उपाध्यक्ष तथा खेलकुद संयोजक दिपेन्द्र पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार प्रतियोगिताको उद्घाटन लायन्सका एलसी आई एफ डिस्ट्रिक कोअडिनेटर लीला चिमरिया, जोन पर्सन शैलेन्द्र कुरुङ्वाङ्ग,रिजन चेयर पर्सन ओमकृष्ण विमली र एरिया चेयर पर्सन सत्यनारायण शर्माले संयुक्तरुपमा गर्ने छन् ।
प्रतियोगितामा खुल्लातर्फका प्रथमले ट्रफी र प्रमाणपत्रसहित नगद २५ हजार, द्वितीयले २० हजार र तृतीय हुने टिमले आठ हजार रुपैयाँ पाउने छन् । त्यस्तै भेट्रानतर्फ प्रथमले २० द्वितीयले १५ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद तथा ट्रफी हात पार्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
बिर्तामोड व्याडमिन्टन क्लवको हलमा प्रतियोगिता हुने लायन्स क्लव अफ अनारमनीका अध्यक्ष डा गौरीशंकर झाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्