बिर्तामोड , फागुन २३ । समाजसेवी तथा राजनीतिकर्मी गिरीराजकुमारी प्रसाईं उत्कृष्ट नारी सम्मानबाट सम्मानित भएकी छन् ।
वीरता लेडी जेसीजले पहिलो पटक उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरी वीरता लेडी जेसीजसहित झापाका ३५वटा विभिन्न सामाजिक संस्थाले सामूहिक रुपमा समाजसेवी तथा राजनीतिज्ञ प्रसाईंलाई उत्कृष्ट नारीको सम्मान प्रदान गरेका हुन् ।समाजसेवामार्फत सामाजिक रुपान्तरणमा टेवा पु¥याएको भन्दै बिर्तामोड – ५ देवीवस्ती निवासी ९० वर्षीया प्रसाईंलाई १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार उक्त सम्मान प्रदान गरिएको हो । वीरता लेडी जेसीज पूर्व अध्यक्षहरुको अगुवाईमा भएको कार्यक्रममा वीरता लेडी जेसीजले प्रसाईंलाई पदक तथा सम्मानपत्र प्रदान गरेको थियो भने ३५ वटा संस्थाको तर्फबाट संयुक्त रुपमा एउटै सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।
त्यस्तै ३५ वटा संस्थाले प्रसाईंलाई मायाको चिनो तथा खादा पहिर्याएर सम्मान गरेका थिए ।
उत्कृष्ट नारी सम्मान छनोट समितिको तर्फबाट संयोजक नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले यस वर्षको उत्कृष्ट नारीको रुपमा प्रसाईंको नाम घोषणा गरेकी थिइन् । उत्कृष्ट नारी सम्मान छनोट समितिमा सञ्चारकर्मी कुमार भट्टराई र वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवाल सदस्य रहेका थिए ।
उत्कृष्ट नारी सम्मान कार्यक्रमकी संयोजक वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष देवी भण्डारीले स्वागत गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि पवित्रा महतारा प्रसाईं , सम्मानित व्यक्तिको तर्फबाट बुहारी संगीता प्रसाईं र वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेलले उत्कृष्ट काम गर्नेलाई प्रेरित गर्न वीरता लेडी जेसीजले उत्कृष्ट नारीको चयन गरी यस वर्षदेखि सम्मान गर्न शुरु गरेकोमा प्रशंसा गरेका थिए । कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाले फरक – फरक विधामा सक्रिय महिलालाई उत्कृष्ट नारी घोषणा गरी प्रत्येक वर्षको अन्तर्राष्ट्रिय नारी दिवसमा उत्कृष्ट नारी सम्मान गरिने जानकारी दिइन् । कार्यक्रममा वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष कञ्चना ढकाल सिटौलाले आस्था वाचन गरेकी थिइन् भने उत्कृष्ट नारी सम्मानको औचित्यमाथि पूर्व अध्यक्ष राधा सुव्वाले प्रकाश पारेकी थिइन् ।