बिर्तामोड, फागुन २४ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक शासन ब्यवस्थाको संरक्षणका लागि नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न तथा निर्वाचनमा जान तयार रहेको संकेत गरेका छन् ।

नेपाल महिला संघ झापाको आयोजनामा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित १११ औं अन्तर्राष्ट्रिय नारी दिवस तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिटौलाले यस्तो संकेत गरेका हुन् ।
‘प्रधानमन्त्री के.पी. शर्मा ओलीले संसदबाट विश्वासको मत लिन नसकेको अवस्थामा र संसदले बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न नसके मुलुक निर्वाचनमा जान्छ’–उनले भने–‘नेपाली कांग्रेस पाँच बर्षसम्म नै संसद चलोस् भन्ने चाहन्छ, जनताको म्याण्डेट बमोजिम सरकारमा जाने हाम्रो इच्छा छैन । तर संविधानको संरक्षण, लोकतन्त्रको रक्षा र न्यायिक सर्वोच्चताका लागि कांग्रेस निर्वाचन वा सरकारको नेतृत्व दुवैका लागि तयार छ ।’ सर्वोच्च अदालतको नेकपा पार्टी सम्बन्धी निर्णयले प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्ने र लिन नसकेको अवस्थामा बहुमत वा सहमतिका आधारमा नयाँ सरकार गठन गर्ने प्रावधान संविधानमा उल्लेख रहेको उनले बताए । संविधानमा परिकल्पना गरिएअनुरुप नै संसद विघटनको निर्णयलाई बदर गरेर सर्वोच्च अदालतले न्यायिक सर्वोच्चता प्रस्तुत गर्दै संविधानको संरक्षण गरेकोप्रति प्रधानन्यायाधिस र न्यायाधीसहरुप्रति नेता सिटौलाले आभार समेत प्रकट गरे । प्रधानमन्त्रीको संसद विघटनसम्बन्धी कदम रोकेर सर्वोच्च अदालतले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको उनको टिप्पणी थियो ।
‘संसारका श्रमिकहरु एक हौं’ भन्ने नारासहित वर्गीय संघर्षको लोकप्रिय नारा दिएका कम्युनिष्टहरुले जनमतको सम्मान गर्न नसकेको र बहुमतप्राप्त कम्युनिष्ट सरकारले जनताको जीवनस्तर सुधार गर्ने कुनै पनि काम गर्न नसकेको उनले दावी गरे ।
‘कम्युनिष्ट नेतृत्वको सरकार गठन भएको तीन बर्षमा जनताले के पाए ?’ नेता सिटौलाले प्रश्न गरे–‘कम्युनिष्टले देश, जनता र राष्ट्रियताको पक्षमा काम गर्न सक्दैनन् भन्ने देखिइसकेको छ । यस सरकारले जनताको जीवनमा के खुशियाली ल्याउन सक्यो ?’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईले महिलाहरुले आफ्नो अधिकार रक्षाका लागि आवाज उठाएको शतक नाघिसक्दा पनि पुरुष समान अधिकार प्राप्ति भइनसकेको टिप्पणी गर्दै पार्टीको मेरुदण्डका रुपमा रहेका महिलाको हरेक क्षेत्रमा समान सहभागिता सुनिश्चित गर्न जोडदार माग गरिन् ।
कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले आरक्षण ब्यवस्थामा मात्रै भर नपरी प्रतिष्पर्धामा उत्रन सक्ने क्षमता अभिबृद्धि गर्न महिलाहरुलाई आह्वान गर्दै संविधानले महिलालाई सतप्रतिशत स्थान दिएको उल्लेख गरे ।
‘संविधानले ब्यवस्था गरेको ३३ प्रतिशत आरक्षण कोटामा पुरुषहरुले सहभागिता जनाउन सक्दैनन’–नेता शिवाकोटीले भने–‘महिलाले आरक्षणको ३३ प्रतिशत र खुल्ला ६७ प्रतिशत दुवैमा प्रतिष्पर्धा गर्न सक्छन्, यसका लागि खुल्ला प्रतिष्पर्धा गर्न सक्ने क्षमता अभिबृद्धि जरुरी छ । ’
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले महिला र पुरुषको समान सहभागिता र अवसरले मात्रै आर्थिक समृद्धि र देशको विकास सम्भव हुने बताए ।
कार्यक्रममा संविधानसभा सदस्य उषा गुरुङ, नेपाल महिला संघका केन्द्रीय सदस्यद्वय शोभा पालुङ्वा र गोमा भट्टराई, नेपाली कांग्रेस पूर्व उपसभापति देउमान थेवे, नेपाली कांग्रेस झापाका सदस्य मेनुका बुढाथोकी, नेपाली कांग्रेस महिला विभाग प्रमुख रामकुमारी पौडेल, नेपाल महिला संघ पूर्व सभापति यज्ञकुमारी सिटौला, शुभेच्छुक संघसंस्था विभाग प्रमुख लता कार्की, नेपाल विद्यार्थी संघ पूर्व सहमहामन्त्री उमा शिवाकोटी, महाधिबेशन प्रतिनिधि भुमा घिमिरे, नेपाल महिला संघ क्षेत्रीय सभापति शर्मिला अधिकारी, अर्जुनधारा नगर सभापति लीलादेवी कटुवाललगायतले मन्तब्य राखेका थिए ।
नेपाल महिला संघ झापा सभापति सुशिला ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याउने महिलाहरु हस्तमाया भण्डारी, हेमकुमारी घिमिरे, पूर्णकुमारी घिमिरे, उद्यमी महिला सीता बाँस्कोटालगायत १० जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सांस्कृतिक संघका जिल्ला सदस्य कमला मैनालीले नारी दिवस सम्बन्धी गीत प्रस्तुत गरेको कार्यक्रममा स्वागत महिला संघ झापाका उपसभापति चन्द्रकला भण्डारी र सञ्चालन जिल्ला सचिव टिका मैनालीले गरेका थिए । कार्यक्रममा पाँचवटै निर्वाचन क्षेत्रका महिलाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्