बिर्तामोड , फागुन २७ । पूर्वी नेपालकै सबैभन्दा ठूलो आकर्षक शिव प्रतिमा झापाको बिर्तामोडमा अनावरण गरिएको छ ।

बिर्तामोड नगरपालिका–१ स्थित देवी पञ्चकन्यामा स्थापना गरिएको उत्कृष्ट र भव्य शिव प्रतिमाको महाशिवरात्री पर्वको अवसर पारेर प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्द गिरीको बाहुलीबाट बिहीबार अनावरण गरिएको हो । अनावरणका अवसरमा भजन, झाँकी नृत्य प्रस्तुत गरिएको थियो । त्यस्तै शिवधुनीका साथ भजन संध्याको कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
जमिनबाट ९ फुट अग्लो आधारस्थल बनाएर त्यसमाथि २७ फिट अग्लो शिव प्रतिमा राखिएको निर्माण समितिका संयोजक तथा कार्यक्रममा अध्यक्ष दीपक दाहालले जानकारी दिए । समुदाय स्तरबाट आर्थिक संकलन गरी सो शिव प्रतिमा दुई महिनाभित्र स्थापना गरिएको र निर्माण गर्दा करिब ३८ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए । उनले भने ‘अहिलेसम्म स्थानीयकै सहयोगले मुर्ति निर्माण गरेका छौ ।’ भारत कोलकात्ताका मुर्तिकारले उक्त मुर्ति बनाएका हुन् । प्रतिमासँगै पूर्व–पश्चिम राजमार्गसँग जोडेर प्रवेशद्वार पनि निर्माण गरिएको छ । प्रवेशद्वार बनाइएको सडकलाई नमुना मार्गका रुपमा विकास गरिने योजना छ ।

कार्यक्रममा प्रदेश सांसद झलकसिंह दर्लामी, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराई, सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलगायतले पञ्चकन्या टोलवासीहरुको गरेको कामको प्रशंसा गरेका थिए । निर्माण समितिका उपाध्यक्ष निर्जला प्रसाईंले स्वागत गरेको कार्यक्रमको संचालन निर्माण समितिका सचिव युवराज दाहाल गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्