भद्रपुर , फागुन २७ । झापाको भद्रपुरमा बिहीबारदेखि प्रथम मेयर कप अन्तर वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ ।

‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी हाम्रो उत्पादन’ भन्ने नाराका साथ भद्रपुर नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा मेची रङ्गशालामा शुरु भएको प्रतियोगिताको १ नं प्रदेश सांसद बसन्त बानियाँले एक समारोहका बीच उद्घाटन गरे । समारोहका प्रमुख अतिथि सांसद वानियाँले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेका हुन् ।
चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल वडा नं १ र वडा नं ३ बीच भएको छ । उक्त खेलमा वडा नं ३ ले वडा नं १ लाई २–१ गोल अन्तरले पराजित गर्यो । वडा नं ३ को तर्फबाट जर्सी नं १५ का सुशील मगरले २ गोल गरे भने १ नं वडाका जर्सी नं २ का राजेश निरौलाले १ गोल फर्काए । शुक्रबार वडा नं ९ र वडा नं ८ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा झापा जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोग रहेको छ ।
प्रतियोगिताको विजेता टिमलाई ३० हजार र उपविजेता टिमलाई २० हजार नगद पुरस्कारसहित शील्ड तथा मेडल प्रदान गरिने नगर खेलकुद विकास समितिका संयोजक श्याम राउतले जानकारी दिए ।
संघीय शासन कार्यान्वयनमा आएपछि पहिलो पटक भद्रपुर नगर सरकार मातहतको खेलकुद विकास समितिले नगरपालिकामा वडास्तरीय नकाउट फुटवल प्रतियोगिता गरेको र यसबाट फुटबलका उत्कृष्ट प्रतिभा छनोट गरी नगरस्तरीय टिम तयार गरिने नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्