बिर्तामोड , फागुन २८ । नेपाल कम्युनिष्ट पार्टी खारेज भएर साविक अबस्थामा पुगेका एमाले र माओवादी केन्द्रले झापामा धनमालको अंशवण्डा गरेका छन् ।

साविक नेकपा र अहिलेको एमाले जिल्ला पार्टी कार्यालय बिर्तामोडमा रहेका धनमाल एमाले र माओवादी केन्द्रले आज अंशवण्डा गरेका हुन् । नेकपा एमालेले जिल्ला पार्टी कार्यालय कव्जा गरिसकेपछि माओवादी केन्द्रले आफ्ना सामान त्यहाँबाट उठाएर लिएर गएको हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भई नेकपा बनेको थियो । केन्द्रमा एकीकरण भइसकेपछि झापाका दुवै जिल्ला कमिटीलाई समायोजन गरी दुवैको सरसामान एउटै ठाउँमा मिसाइएको थियो । अब पार्टी अलगअलग भएपछि माओवादी केन्द्रले आफूसँगै ल्याएको सरसामान उठाएर लिएर गएको हो । माओवादी केन्द्रका कार्यकर्ताहरुले अहिलेको एमाले कार्यालयबाट ३ सय वटा प्लाष्टिकका कुर्सी , तीन वटा दराज , टेबल , सोफा, कम्प्युटर , फोटोकपि मेशिन ,प्रिन्टरलगायतका सामान लगेर आफ्नै कार्यालय खोलेका छन् । दुईवटा गाडी लिएर माओवादीका कार्यकर्ताहरु आफ्ना सामान लिन गएका थिए । एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकसँग आपसी सहमति गरिसकेपछि आफूहरुले आफ्नो पैतृक सम्पत्ति लिएर आएको माओवादी केन्द्रका पूर्व झापा संयोजक मणिकुमार साम्पाङ (विजय)ले बताए । उनले एमाले कार्यालय सचिव शिव ढुंगेलको रोहवरमा ती सामान लिएर आएको जानकारी दिए । आफूहरुले करिव ३ वर्षअघि ल्याएको सामान खोजी खोजी लिएर आएको एक माओवादी कार्यकर्ताले बताए । ‘एकै ठाउँमा मिसाएर राखिएका सामान छुट्याउन गाह्रो भएन’उनले भने ,‘आफूहरुले जोडेको सामान परैबाट चिनेर उठाएर ल्यायौं ।’ सामान लगेर बिर्तामोड–१ स्थित गौरीशंकर स्मृति प्रतिष्ठान रहेको भवनमै माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालय सञ्चालन गरेको छ । पार्टी कार्यालय सञ्चालन साथै पार्टीको साइनबोर्ड राखेर पार्टी कार्यालय औपचारिक उद्घाटन गरिएको छ । कार्यालय उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य झलकसिंह दर्लामी, पूर्णसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेको अखिल नेपाल ट्रेड युनियन प्रदेश इन्चार्ज भूपाल सापकोटाले जानकारी दिए । कार्यक्रममा माओवादी केन्द्र प्रदेश सदस्य रेवतराज पुरी (गगन), ज्योतीसिंह दर्लामी, विद्यार्थी नेता, युवा, मजदुरलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन पूर्व झापा संयोजक विजयले गरेका थिए । एमालेले भने केही दिनअघि नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको बोर्डलाई मेटेर नेपाल कम्युनिष्ट पार्टी ( एमाले) लेखेको थियो ।
नगद बाँडफाँड बाँकी
पार्टी एकीकरण भएर एमाले र माओवादी केन्द्रले झापामा करिव ३ वर्ष संगै आर्थिक कारोवार गरेका थिए । अब पार्टी अलग भइसकेपछि जिन्सी सामानको अंशवण्डासँगै त्यसलाई पनि भागवण्डा गर्नुपर्ने कुरा उठेको छ । पार्टी अलग भइसकेपछि दुवैको सहमतिमा बैंक खाता रोक्का गरिएको छ । साविक नेकपाको नाममा राष्ट्रिय वाणिज्य बैंक बिर्तामोड र बिर्तामोडको एक्सल बैंकमा खाता रहेको छ । ती बैंकमा मोटामोटी १७ लाख रुपैयाँ रहेको साविक नेकपाका सचिव मणिकुमार साम्पाङ (विजय)ले बताए । उनका अनुसार नेकपाको नाममा ५० लाखको हाराहारीमा नगद देखिन्छ । कार्यकर्ताहरुबाट उठ्न बाँकी रहेको लेवीसहित त्यति रकम कूल देखिएको र त्यसलाई आपसी सहमतिमा बाँड्नका लागि आफूहरुले प्रस्ताव गरेको विजयले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्