दमक, फागुन २९ । दमक नगरपालिकाले कोरोना महामारीका वेला भएका खर्चको हिसाव सार्वजनिक गरेको छ ।
नगरपालिकाको आठांै नगरसभाबाट नगरपालिकाले कोरोना रोकथाम तथा उपचारका लागि भएका आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको नगर उपप्रमुख गीता अधिकारीले बताईन् ।
उनका अनुसार कोरोना रोकथामका लागि नगरपालिकाले गठन गरेको विपद कोषमा १ करोड ३० लाख ५७ हजार ४२ जम्मा भएकोमध्ये त्यसै अवधिमा रु १ करोड ८० लाख ७० हजार १११ रुपैयाँ खर्च भएको देखिएको छ । आम्दानीको तुलनामा खर्च रु ५० लाख १३ हजार ६८ बढी भएको विवरणमा उल्लेख छ ।
जसअनुसार सवैभन्दा धेरै खर्चको शीर्षक तलव भत्ता नै रहेको छ । तलव भत्तामा मात्र रु ५६ लाख १५ हजार २१० रहेको छ ।यो खर्च कोभिडको जोखिमका समयमा अग्रभागमा रहेर काम गर्ने चिकित्सक,स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक तथा अन्य सरसफाइकर्मीहरुलाई उपलव्ध गराईएको प्रवक्तासमेत रहेकी नगर उपप्रमुख अधिकारीले जानकारी दिईन् ।
उक्त विपद कोषमा मौज्दात ५ लाख ५५ हजार २३०, नगरपालिकाबाट थप १ करोड ४ लाख ६१ हजार ८ सय ११, प्रदेश सरकारवाट १५ लाख, नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुवाट ५ लाख ४० हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको थियो ।
यसैवीच नगरपालिकामा अहिले कोरोना संक्रमितको संख्या शून्य रहेको छ । यो अवधिमा दमकमा ४ हजार ८७० जनाको स्वाव परीक्षण गरिएकामध्ये १ हजार १८७ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको र अन्य सवै संक्रमित कोरोना मुक्त भईसकेको नगरपालिकाको प्रतिवेदनमा जनाईएको छ ।