बिर्तामोड, फागुन २९ । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कृषि व्यवसायमा संलग्न आफ्ना शेयर सदस्यहरुका लागि उन्नत जातका बाख्रा तथा व्यावसायिक मौरीपालनसम्बन्धी तालिम सुरु गरेको छ ।

संस्थाको कार्यक्षेत्रका सबै सेवाकेन्द्रबाट छानिएर आएका तीन–तीनजना शेयर सदस्यहरुका लागि तीनदिने तालिम शनिबारबाट सुरु गरिएको हो । संस्थाअन्तरगत शिक्षा तथा तालिम उपसमितिका संयोजक मेहरमान विष्टको अध्यक्षतामा विशेष कार्यक्रमका बीच तालिम उद्घाटन गरिएको हो ।
उन्नत जातका बाख्रा तथा व्यावसायिक मौरीपालनसम्बन्धी तालिमको उद्घाटनपछि मन्तब्य राख्दै संस्थाका अध्यक्ष सुवास भट्टराईले सुन्दा सजिलो लागेपनि पशुपालन व्यवसाय त्यति सहज नभएको बताए ।
यसरी नै संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले सिम्रिक साकोसको वर्तमान वित्तीय स्थिति एवम् सदस्य र सेवा केन्द्रहरुबारे जानकारी गराए । उनले तालिम आयोजना गर्नुको औचित्य प्रष्ट्याउँदै सबै सेवाकेन्द्रबाट चुनिएर आएका संस्थाका सदस्यहरुले तालिमपछि बाख्रापालन वा मौरीपालन व्यवसाय गर्नसक्ने हिम्मत राख्न सुझाउँदै संस्थाले आवश्यकता अनुसार कर्जा उपलब्ध गराउने बचन पनि दिए । तालिम उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक हरिप्रसाद कडरिया, घनश्याम न्यौपाने र खेमराज ढकालले आफ्ना धारणा राखेका थिए ।

उन्नत जातका बाख्रा तथा व्यावसायिक मौरीपालनसम्बन्धी तीन दिवसीय तालिमको सहजीकरण प्रगति बोयर बाख्रापालन फर्म हल्दिबारी १ गोलधापका सञ्चालक गणेश पराजुली र सतासी महिला मौरीपालन सहकारी संस्था दूधेका प्रतिनिधिले गर्नेछन् ।
तालिममा सिद्धान्तका कुरामात्र नगरी आफूले सात वर्षदेखि उन्नत जातका बोयर बाख्रा पालेर बटुलेको अनुभव साट्ने सहजकर्ता पराजुलीले जानकारी दिए । शिक्षा उपसमितिका सदस्य बद्री प्याकुरेलले सञ्चालन गरेको तालिम उद्घाटन कार्यक्रममा शिक्षा उपसमितिका अर्का सदस्य मदन रिजालले स्वागत मन्तव्य राखेका थिए ।