भद्रपुर, फागुन २९ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति झापाको २६ औं बार्षिक साधारणसभालाई संगठनका १५ वटै स्थानीय तहबाट आएका प्रतिनिधिहरुले बहिष्कार गरेका छन् ।

चन्द्रगढीमा शनिवार आयोजित सभामा अध्यक्ष खेमराज कार्कीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन केवल औपचारिकतामा मात्रै सीमित भएको भन्दै संगठनका साधारण सदस्यहरुले बहिस्कार गरेका हुन् ।
संगठनका साधारण सदस्य याम आचार्यले कार्यसमितिले संगठनमा आर्थिक चलखेल गरेको र हिसाव अपारदर्शी भएको भन्दै सभा बहिस्कार गरेको बताए । संगठनका कचनकवल अध्यक्ष देउमान बुढाथोकीले केन्द्रीय समितिले सदस्यहरुको गणपुरक संख्या पुरा नगरी सभाको आयोजना गरेको भन्दै केन्द्रले संगठनका सदस्यहरुको हित विपरित विधान ल्याउँदा जिल्ला समितिले कुनै पहल गर्न नसकेको आरोप लगाए । झापामा २३ सयबढी साधारण सदस्य रहँदा ५० प्रतिशत भन्दा कम संख्यामा उपस्थित सदस्यहरु रहेको सभाको महत्व नहुने भन्दै वार्षिक साधारणसभा बहिस्कार गरेको सहभागी सदस्यहरुले बताएका छन् ।
उनीहरुले कार्यक्रमस्थल छनोट, त्यसको व्यवस्थापन ठीक नभएको भन्दै वर्तमान कार्यसमिति आफूखुशी अघि बढ्ने गरेको आरोप लगाउँदै पारदर्शी र वैधानिक तवरले सभा संचालन नभएसम्म आफूहरु साधारणसभामा उपस्थित नहुने बताएका छन् ।
यता कार्यसमिति अध्यक्ष खेमराज कार्कीले भने समितिबाट सामान्य त्रुटी भए पनि यस्तो त्रुटी फेरि दोहोरिन नदिने बताए ।
उनले सबै प्रक्रिया पुर्याएर यही चैत्र २२ गते अर्को साधारणसभा गरिने बताए ।
सदस्यहरुले भनेजस्तो संगठनमा कुनै पनि आर्थिक हिनामिना नभएको सचिव अग्नि खड्काले दावी गरे ।
कार्यक्रममा संगठनका जिल्ला सल्लाहकार धनप्रसाद शिवाकोटी, भद्रपुर अध्यक्ष ढाकबालाल अधिकारीलगायतको नगण्य मात्रामा सहभागिता रहेको थियो।



