शिवसताक्षी, चैत ३ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनकै लागि झापामा प्रेस चौतारी नेपाल ब्युँताइएको छ ।

साविक नेकपा विभाजन हुनलाग्दा भातृ संगठनको रुपमा रहेको प्रेस संगठन पनि विभाजन भएको थियो । नेकपाको ओली समूहले अलग्याएको प्रेस संगठनलाई नेकपा एमाले बनेपछि अहिले आएर प्रेस चौतारी नेपाल भनेर ब्युँताइएको हो । सोही प्रेस चौतारी नेपाल झापा शाखाको पहिलो बैठक सोमबार शिवसताक्षीको झिलझिलेमा सम्पन्न भएको छ ।
पत्रकारका संघ–संगठनसंग समन्वय गरेर निर्वाचन केन्द्रित कार्यक्रम अघि बढाउनका लागि प्रेस चौतारी झापाका अध्यक्ष टीकाराम उप्रेतीको अध्यक्षतामा सात सदस्यीय निर्वाचन समन्वय तथा परिचालन समिति गठन भएको छ । सो समितिले तत्काल सबै संगठनसँग वार्ता गरेर महासंघको नेतृत्व सर्वसम्मत बनाउन पहल गर्नेछ ।
बैठकले समन्वय तथा निर्वाचन परिचालन समितिको सदस्यमा चौतारीकी केन्द्रीय सदस्य अम्बिका भण्डारी, नेकपा एमाले जिल्ला कमिटीका प्रचार विभाग प्रमुख तथा नेपाल पत्रकार महांघका झापाका पूर्व अध्यक्ष माधव विद्रोही, आमसञ्चार प्रतिष्ठान प्रदेश नम्बर १ का सदस्य गोपाल काफ्ले, महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने, फोनिजका जिल्ला अध्यक्ष विशाल नेम्वाङ, प्रदेश सदस्य मीनप्रकाश उप्रेतीलाई चयन गरेको छ ।
बैठकले जिल्ला कार्यसमितिको सदस्य पदमा सरोज भट्टराईलाई चयन गर्ने निर्णय गरेको सचिव विनोद सापकाटाले जानकारी दिए । यसैगरी संगठनलाई आर्थिक रुपमा मजबुत बनाउन उपाध्यक्ष मनकुमार गदालको संयोजकत्वमा ११ सदस्यीय आर्थिक समिति गठन भएको छ ।
यसैगरी प्रेस चौतारी झापाको पदाधिकारी सम्मिलित सचिवालय समेत गठन भएको छ । अध्यक्ष टिकाराम उप्रेती, उपाध्यक्ष मनकुमार गदाल, प्रदिप परियार, गंगा बराल, प्रकाश पौडेल, सचिव विनोद सापकोटा, सहसचिव राम निरौला, सागर गौतम,उमानाथ भण्डारी र कोषाध्यक्ष गीता ढँुगाना रहेको सचिवालय गठन भएको हो ।
बैठकमा सहभागी शिवसताक्षी नगरपालिकाका नगरप्रमुख चन्द्रकुमार शेर्माले प्रेस चौतारीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्