बिर्तामोड, चैत ५ । वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बिर्तामोड –५ धिमाल चोकमा अस्थाई बसोबास गर्दै आएका टिपी धिमाललाई १० धुर जग्गा निःशुल्क प्रदान गरेका छन् ।

वीरता जेसीजका अध्यक्ष राजीव धिमालले अर्जुनधारा –९ मा रहेको १० धुर जग्गाको धनीपूर्जा धिमाललाई प्रदान गरेका हुन् । वीरता जेसीजका अध्यक्ष धिमालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर प्रमुख धुव्रकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजका अन्तर शाखा समन्वय संयोजक तथा कार्यक्रम संयोजक जीवनकुमार खड्काले स्वागत गरेका थिए ।
कार्यक्रममा राजमिस्त्रीको रुपमा मजदुरी गर्दै श्रीमती, दुई छोरा र एक छोरी पाल्दै आएका ४७ वर्षीय धिमाललाई दीगो बासस्थानको लागि आफ्नो तर्फबाट अर्जुनधारा –९ मा रहेको १५ लाख मूल्य बराबरको १० धुर जग्गा उपलब्ध गराएको वीरता जेसीजका अध्यक्ष धिमालले बताए ।
उनले वीरता जेसीज र अर्जुनधारा नगरपालिकाको समन्वयमा उक्त जग्गामा घर समेत निर्माण गरिदिने जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर प्रमुख शिवाकोटीले वास्तविक भूमिहीन छनोट गरी निःशुल्क जग्गा प्रदान गरेर समाजमा सकारात्मक सन्देश दिएको भन्दै वीरता जेसीजका अध्यक्ष धिमालको प्रशंसा गरेका थिए ।
वीरता जेसीजका भूतपूर्व अध्यक्षसमेत रहेका शिवाकोटीले निःशुल्क जग्गा प्राप्त गरेका धिमालको घर निर्माण गर्न अर्जुनधारा नगरपालिकाको विपन्न आवास निर्माण योजना अनुसार सहयोग गर्न अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानालाई अनुरोध गरिएको जानकारी दिए ।
उनले बिर्तामोडमा पनि वीरता जेसीजले वास्तविक भूमिहीन पहिचान गरेर जग्गा उपलव्ध गराए बिर्तामोड नगरपालिकाको विपन्न आवास निर्माण योजना अनुसार घर निर्माण गरिदिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा निः शुल्क जग्गा धनीपूर्जा प्राप्त गरेका धिमालले जग्गा किन्न नसकेर वर्षौंदेखि अर्काको जग्गामा बसिरहेको अवस्थामा निः शुल्क जग्गा धनीपूर्जा प्राप्त गर्दा अत्यन्त खुशी लागेको बताए ।
कार्यक्रममा सहभागी नेपाल तरुण दल क्षेत्र नं. २ का क्षेत्रीय सभापति राम धिमाल लगायतले वास्तविक भूमिहीन धिमाललाई निःशुल्क जग्गा प्रदान गरेर वीरता जेसीजका अध्यक्ष धिमालले समाजमा अनुकरणीय कार्य गरेको बताए ।वीरता जेसीजका निवर्तमान अध्यक्ष मिजाश पोखरेलले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा तालिम संयोजक प्रभात मास्केले आस्था वाचन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्