हल्दीबारी , चैत ५ । हल्दीवारी–१ गोलधापका एक विपन्न परिवार अहिले संकटमा परेको छ । ६५ बर्षको उमेरमा ३ जनाको परिवारलाई एक्लै धान्दै आएका घरमुली लीलाप्रसाद घिमिरेलाई क्यान्सर रोग लागेपछि उनको परिवारमा ब्रजपात परेको हो ।

मजदुरी गरी विहान–वेलुकाको छाक टार्दै आएका घिमिरे थलिएपछि उनको परिवार अहिले विचल्लीमा परेको छ । जीविकोपार्जन गर्नै धौधौ परिरहेको घिमिरे परिवारलाई आफ्ना अभिभावकको उपचार असंभवजस्तै लाग्न थालेको छ । कक्षा–११ मा पढ्दै गरेकी १६ बर्षकी छोरी रिताले बाबु विरामी भएपछि पढाइ छाडेकी छिन् । घरको समस्याले चिन्तित उनकी श्रीमती तुलसाले आँसु बगाउँदै श्रीमान्लाई बजाइदिन आग्रह गरेकी छिन् ।
घिमिरेको यस्तो अवस्था देखेपछि बिर्तामोडको गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सरपीडित सहयोग संस्थाले क्यान्सर रोगीको उपचारका लागि अभियान सञ्चालन गर्ने भएको छ । घिमिरेलाई बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा क्यान्सर भएको थाहा भएपछि संस्थाले अभियान सञ्चालन गर्न लागेको हो । ३ महिनाअघि सास फेर्न समस्या भएपछि आवाज पनि बन्द भएको थियो । स्थानीयको सहयोगमा भद्रपुरस्थित पाथीभरा अस्पतालमा उनको घाटीको शल्यक्रिया गरिएको थियो । घिमिरेको उपचार सहयोगका अभियान सञ्चालन गर्न सञ्चारकर्मीसहितको टोली बिहीबार पीडितको घरमा पुगेको थियो ।

बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था अध्यक्ष टसबहादुर श्रेष्ठले आर्थिक अभावका कारण पढ्न नसकेकी रितालाई संस्थाको तर्फबाट पढ्ने वातावरण मिलाइदिने बताए । पढाइ खर्च र संस्थामै तालिमको व्यवस्था गरेर जागिर दिने अध्यक्ष श्रेष्ठले आश्वासन दिएका छन् । उनले संस्थाको नियमानुसार घर निर्माण र उपचारमा सहयोग गर्न सकिनेसमेत बताए । उनले गरिवी र आर्थिक अभावले छट्पटाइरहेकाका लागि संस्थाले स्थापना गरेको सहयोग कोषको सदस्य बन्न समेत आग्रह गरे । अभियानका लागि संस्थाका अध्यक्ष भूपाल बस्नेतको संयोजकत्वमा ११ सदस्यीय आर्थिक संकलन समिति निर्माण गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्