झापा , चैत १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीको बिर्तामोड नगर अध्यक्ष पदका लागि एक दर्जनबढी आकांक्षी देखिएका छन् ।

शुक्रबार आयोजित राप्रपाको बिर्तामोड नगर समितिको अधिवेशनमा एउटा अध्यक्ष पदका लागि १३ जना आकांक्षी देखिएका हुन् । शुरुमा त्यति धेरै देखिएपनि पछि ८ जनाले छोडेर ५ जना बाँकी रहेका छन् । अहिलेका अध्यक्ष शंकरप्रसाद रिजाल ,जिल्ला सहसचिव रन्जु प्याकुरेलसहित प्रकाश बुढाथोकी , नवराज भट्टराई र किरण पौडेलले अध्यक्ष पदमा दावेदारी गरेका हुन् । त्यसमध्ये आफू र शंकर रिजालले कुनै पनि हालतमा दावेदारी नछोड्ने जिल्ला सहसचिव प्याकुरेलले बताइन् । राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएपछि यतिबेला सबै तहहरुमा एकता अधिवेशन भइरहेको छ । एउटा पदका लागि त्यति धेरै आकांक्षी देखिएपछि शुक्रबारको अधिवेशनले सर्वसम्मतिमा नयाँ नेतृत्व चयन गर्न सकेन । नयाँ कार्यसमितिको चयन प्रक्रिया चैत १७ गते मंगलबारका लागि सारिएको जिल्ला उपाध्यक्ष कमल खरेलले बताए । नगर समिति ४३ सदस्यीय बनाउन सकिने प्रावधान रहेको छ । नगरका १० वटा वडाबाट ३ जनाका दरले सदस्य चयनमा समस्या नभएपनि अध्यक्ष पदका लागि धेरै आकांक्षी देखिँदा समस्या भएको खरेलले बताए ।

पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा संघीय सांसद राजेन्द्र लिङ्देनले अधिवेशनको उद्घाटन गरेका थिए । नगर अध्यक्ष शंकर रिजालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरु भक्ति सिटौला , राजकुमार पोखरेल , प्रदेश सदस्य देवी दंगाल , जिल्ला उपाध्यक्ष देवराज रिजाल ,जिल्ला सहसचिव रन्जु पयाकुरेल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य बसन्त रिमाललगायतले मन्तव्य राखेका थिए । नगर उपाध्यक्ष जगत बस्नेतले स्वागत गरेको कार्यक्रमको संचालन सिर्जना तामाङले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्