बिर्तामोड, चैत १७ । पद, सत्ता र शक्तिको दुरुपयोग गरेर कनकाई नगरपालिका वडा नं–७ का वडाध्यक्ष लीलाबहादुर कन्दङ्वाले दुर्गापुर बजार ब्यवस्थापन समिति गठनमा ढिलाइ गरेको भन्दै नेपाली कांग्रेससहितका ५ दल र बजार ब्यवस्थापन समितिकै पदाधिकारीले आपत्ति जनाएका छन् ।


दुर्गापुर व्यापार समितिका अध्यक्ष भुवानी शिवाकोटी, नेपाली कांग्रेसका कनकाई–७ का वडा सभापति इश्वरीप्रसाद शिवाकोटी, माओवादी केन्द्रका सहइन्चार्ज तथा दुर्गापुर बजार व्यवस्थापन समितिका सचिव राजु अधिकारी, नेकपा एमालेका पार्टी प्रतिनिधि शिवराज बस्नेत, संघीय लिम्बुबान मञ्च नेपालका अध्यक्ष तथा दुर्गापुर बजार व्यवस्थापन समितिका सदस्य बसन्त मेयाङबो र राप्रपाका प्रतिनिधि चन्द्र घिमिरेले प्रेस विज्ञप्ति प्रकाशित गर्दै स्वतन्त्रतापूर्वक बजार ब्यवस्थापन समिति गठन गर्न वडाध्यक्षले नदिएको आरोप लगाएका हुन् ।
दुर्गापुर बजार व्यवस्थापन समितिको पदावधि सकिए पनि नयाँ नबनाएको र सरोकारवालाहरुले नयाँ समिति गठन गर्न माग गर्दा आलटाल गरेको आरोप वडाध्यक्षमाथि लगाएका हुन् । वजार व्यवस्थापन समितिको अधिवेशनलाई वडाअध्यक्षले विभिन्न वहानामा पछि सार्दै आएको विज्ञप्तिमा आरोप लगाइएको छ ।बजारबासीलाई सूचना नदिई वडाध्यक्षकै पहलमा एकलौटी रुपमा समिति गठन गर्न खोजिएपछि नगरप्रमुख राजेन्द्रकुमार पोखरेलसमक्ष डेलिगेशन गएको र पोखरेलकै निर्देशनमा तत्कालका लागि समिति गठन रोकिएको विज्ञप्तिमार्फत जनाइएको छ ।
वडाध्यक्षले आपूm अनुकुलको समिति गठन गर्न चाहिरहेको आरोप लगाउँदैै विज्ञप्तिमा बजारवासीको सहभागितामा स्वतन्त्रतापूर्वक नयाँ समिति गठन गर्न पनि माग गरिएको छ ।
आवश्यक नियम अनुसार नयाँ बजार व्यवस्थापन समिति गठनका लागि आफुहरु नगरपालिका वडा कार्यालयमा समेत डेलिकेशन जाने बजार व्यवस्थापन समितिका सचिव समेत रहेका राजु अधिकारीले बताए । ‘म आफै समितिको सचिव हुँ विधान अनुसार जाउँ नयाँ समिति बनाउँ भनिरहेको छु, वडाध्यक्ष मान्न तयार हुनुहुन्न’ सचिव अधिकारीले भने–‘उहाँका लागि सबै वडावासी एकै हुनुपर्ने तर भएन यसबाट दुर्गापुर बजारको ऐतिहासिकतामा नै पो प्रश्न चिन्ह लाग्ला कि भन्ने चिन्ता छ।’
यता यसवारेमा कनकाई ७ का वडाध्यक्ष कन्दङ्वासमक्ष जिज्ञासा राख्दा कोरोना कहरका कारण पनि बजार व्यवस्थापन समितिको कार्यकाल थप्नुपरेको बताए । ‘हामी दसैँमा बजारको स्वर्ण महोत्सव मनाउँदैछौ त्यो स्वर्ण महोत्सव यहि समितिलाई मनाउन दिनुहोस् भनेको साथीहरु कुरै बुझ्नुहुन्न’–वडाध्यक्ष कन्दङ्बाले भने । यता वर्तमान सचिव रहेका अधिकारीले भने स्वर्ण महोत्सवअघि नै समिति गठन गरेर सोही समितिले महोत्सवको आयोजना गर्न पाउनुपर्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्