सपना आचार्य,
माई । इलामको माई नगरपालिकामा व्यवसाय शुरु गर्ने ७० जना युवालाई ८ लाख रुपैयाँ बीउ पूँजी र प्रोत्साहन रकम प्रदान गरिएको छ ।

स्थानीय स्तरको श्रोत परिचालनमार्फत जीविकोपार्जन सहयोग गर्दै व्यावसायिक कृषिलाई प्रवद्र्धन गर्न ६० जनालाई नगद १२ हजार ४ सय ८५ रुपैयाँका दरले र १० जनालाई व्यावसायिक योजनाअनुरुप ५ हजारका दरले नगद प्रदान गरिएको हो । माई नगरपालिकाको समन्वयमा एडब्लुओ र मानव अधिकार मञ्च नेपाल इलाम मुख्य साझेदार रहेको कार्यक्रममा व्यावसायिक तालिम लिई सीप प्राप्त गरेका युवाहरुलाई पहिलो चरणमा सहयोग प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि माईका मेयर दिपककुमार थेबेले निर्वाहमुखी पेशामा लाग्दै आएका युवाहरुलाई उद्यम विकास तालिमपछि आधुनिक पेशा व्यवसाय गर्न प्रोत्साहित गर्न बीउ पूँजी प्रदान गरिएको जानकारी दिए । मेयर थेबेले युवाहरुलाई लक्ष्य, उद्देश्य, इच्छा शक्तिसहित दृढ संकल्पका साथ आधुनिक प्रविधिको प्रयोग गर्दे करोडौको आम्दानी गर्न शुभकामना दिए । विशेष अतिथि रहेकी उपमेयर बिष्णुमाया आचार्यले सीप विकास तालिम लिएका युवाहरुलाई आर्थिक आर्जन गरी परिवार र समुदायलाई नै समृद्धि प्राप्त गर्न सुझाव दिइन् । उनले माईमा ६ सय जना युवाहरुले व्यावसायिक सीप विकास तालिम लिएको बताउँदै माई नगरपालिका कृषिमा चाँडै आत्मनिर्भर हुने दावी गरिन् ।

जीविकोपार्जनका लागि सुरक्षित आप्रवासी र स्व–उद्यमशीलता सम्बन्धी युवा सशक्तिकरण समूहको क्षमता विकास र परिचालन मार्फत बेचविखनबिरुद्ध अभियान कार्यक्रमअन्तरगत बीउ पूँजी सहयोग गरिएको मानव अधिकार मञ्च नेपालका सुरेश पोर्तेलले जानकारी दिए । सन् २०१८ बाट शुरु भएको कार्यक्रम इलामको माई नगरपालिका, रोङ गाउँपालिकामा सञ्चालित छ भने यस आर्थिक वर्षबाट चुलाचुली र माईजोगमाई गाउँपालिकामा सञ्चालन गरिने कार्यक्रम फोकल पर्सन निरुता थापाले जानकारी दिइन् । कार्यक्रमअन्तरगत आप्रवासबाट फर्किएका पीडित तथा परिवारको सामाजिक पुनस्र्थापनामा सहयोग, सचेतना, व्यावसायिक सीप विकास तालिमलगायतका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

जनप्रतिनिधि, कर्मचारी, युवा सशक्तिकरण सञ्जालका प्रतिनिधि र सरोकार युवा व्यवसायीलगायत सय जनाभन्दा बढी सहभागी रहेको कार्यक्रमको सहजीकरण मानव अधिकार मञ्च नेपालका सुरेश पोर्तेल, योगराज सापकोटा, सन्तोष मगरलगायतले गरेका थिए । कार्यक्रमको अध्यक्षता युवा सशक्तिकरण संजाल माईका अध्यक्ष दिपेन्द्र सुब्वाले गरेको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्