झापा , चैत २० । जब राष्ट्रिय जनगणना आउँछ , तब पूर्वी तराईमा बसोबास गर्ने जातिहरुलाई समस्या आउँछ –धर्म र भाषाको महलमा के लेखाउने भनेर । २०६८ सालको राष्ट्रिय जनगणनामा समान समस्या भोगेका करिव २० वटा जातिहरुमा दश वर्षपछिको २०७८ सालको जनगणनामा समेत त्यही अन्यौल यथावत छ ।

जनगणना शुरु हुनैलाग्दा ती जातिहरुले धर्म र भाषा के लेखाउने भनेर अझै निक्र्यौल गर्न सकेका छैनन् । पूर्वी तराईमा बसोबास गर्ने राजवंशी,ताजपुरिया,गनगाई,माझी, हलुवाई , देशी मुस्लिम, तराईवासी ठाकुर ,देशी ग्वाला , केवरत , कोच , तेली , सुँडी , माली , अघोरी , गिरी ,गोस्वामी,बरोईसहित २१ वटा जातिले एउटै भाषा बोल्ने गर्छन् । तराईको एउटा सिंगो समुदायले त्यो भाषालाई मातृभाषाको रुपमा प्रयोग गर्छन् । एउटै भाषा बोल्ने राजवंशी जातिले जनगणनामा राजवंशी भाषा लेखाउने गरेका छन् । पछिल्लो समय त्यो जातिले आफ्नो भाषालाई कोच भाषा भन्ने गरेको छ । तर, राजवंशी इतरका जातिहरुले समेत आफूहरुले बोल्ने भाषा राजवंशी नै लेखाउनु पर्ने बाध्यता छ । उनीहरुलाई त्यो मान्य छैन । जाति आफ्नो अनि भाषा अर्काको । राजवंशी जातिको राजवंशी भाषा नलेख्ने भनेर २०६८ सालको जनगणनाका बेला सुरजापुरी भाषाको कुरा उठेको थियो । तर, त्यस सुरजापुरी भाषाको नामाकरणमा पनि एकमत बन्न सकेको छैन । जनगणना आउनैलाग्दा भाषामा के लेख्ने भनेर ती जातिहरु समस्यामा परेका छन् । धर्म , भाषा , संस्कार संस्कृति यकिन नहुँदा ती जातिको अस्तित्व र पहिचान बन्न सकेको छैन । त्यसवारे राजवंशी इतरका केही जातिहरुबीच छलफल भएपनि सहमति हुन नसकेको बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य द्रौपती गणेशले बताईन् ।‘जनगणना आउनैलाग्दा भाषामा के लेखाउने भनेर अन्यौल छ’उनले भनिन् ,‘सुरजापुरीमा पनि सहमति जुट्न सकेको छैन ।’

प्रादेशिक हिसाबले १ नं प्रदेशमा करिव ७ लाख भाषीले एउटै मातृभाषा बोल्ने गरेको अनुमान छ । झापा,मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी जातिको मात्र जनसंख्या डेढ लाख भन्दा बढी पुगेको अनुमान गरिएको छ ।२०६८ सालको जनगणनाले राजवंशी जातिको जनसंख्या १ लाख १५ हजार २ सय ४२ र भाषा वक्ताको संख्या १ लाख २२ हजार २ सय १४ निकालेको थियो । झापा जिल्लाको जनसंख्या ८ लाख १२ हजार ६ सय ५० रहेकोमा राजवंशीको संख्या ८३ हजार ६५ रहेको थियो । खस समुदायपछि दोस्रो स्थानमा राजवंशी भाषी आउँछन् । त्यस्तै मोरङको जनसंख्या ९ लाख ६५ हजार ३ सय ७० रहेकोमा राजवंशीको संख्या ३६ हजार ३ सय ८५ रहेको थियो । त्यसैगरी सुनसरीको ७ लाख ६३ हजार ४सय ८७ जनसंख्यामध्ये राजवंशीको संख्या १ हजार २ सय ६२ निकालिएको थियो ।

शब्द र उच्चारण एउटै छ । तर राजवंशी जाति र उनीहरुसँग मिल्ने अरु जातिहरुले आफूले बोल्ने भाषाको नाम फरक– फरक भन्ने गरेका छन् । मुख्य जाति ठान्ने राजवंशीहरुले आफूहरुले बोल्ने भाषालाई राजवंशी भाषा भन्ने गरेका छन् भने ताजपुरिया,गनगाई,माझीलगायतका जातिले सुरजापुरी भनेर दावी गर्छन् । भाषामा देखिएको त्यो विवाद बर्षौदेखि कायम छ । तर त्यसलाई मिलाउन जातीय अगुवाहरु अग्रसर भएका छैनन् । गैर राजवंशीहरु आफूहरुले त्यसलाई सदियौंदेखि मातृभाषाको रुपमा प्रयोग गर्दै आएको बताउँछन् । भारत किसनगञ्जको सुरजापुर प्रगन्नामा बस्नेहरुले सुरजापुरी भाषा बोल्ने गरेको र पछि बसाइ सरी आएर उनीहरुले आफ्नो भाषा सिकेको राजवंशी अगुवाहरुको दावी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्