भद्रपुर , चैत २० । झापामा हात्तिपाईले रोगविरुद्धको १० औ पटकको आम औषधी वितरण अभियान विधिवतरुपमा शुभारम्भ गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाद्वारा चन्द्रगढीमा शुक्रवार आयोजित कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ,मेची अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर ठाकुर ,जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल ,संचारकर्मीलगायतले एकसाथ औषधी सेवन गरेर अभियानको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बोल्दै समन्वय समितिका प्रमुख पोर्तेलले सचेत नागरिक रहेको जिल्लाको पहिचान बोकेको झापाका सबै नागरिकले अनिवार्य औषधी सेवन गरेर अभियान सफल पार्नु पर्ने बताए ।
उनले भ्रमको पछि लागेर औषधी सेवन नगर्दा झापालीको प्रतिष्ठा गुम्ने बताउँदै सबैले औषधी सेवन गरेर अभियान सफल बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै भद्रपुर नगरपालिकाका नगर प्रमुख श्रेष्ठले औषधी नियमित खान आग्रह गर्दै अभियानको अनुगमन गर्न नगरपालिकाले जनप्रतिनिधिहरुलाई खटाइसकेको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले औचित्यमाथि प्रकाश पार्दै यही चैत मसान्तसम्म संचालन गरिने अभियानमा झापाका ८ लाख १६ हजार बढीलाई यस पटक हात्तिपाईले रोगविरुद्धको औषधी सेवन गराउने योजना रहेको बताए ।
मेची अंचल अस्पतालका डा. पिताम्वर ठाकुरले ७ दिनसम्मका सुत्केरी ,२ बर्षमुनिका बालबालिका र सिकिस्त विरामी बाहेकका सबैलाई अनिवार्य औषधी सेवन गर्न आग्रह गर्दै औषधीले कुनै असर नगर्ने बताए । पोर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संंचालन कार्यालयका फोकल पर्सन जीवन चौंलागाईले गरेका थिए ।

त्यस्तै बिर्तामोडमा पनि हात्तिपाइले रोगविरुद्धको आम औषधी अभियानको शुरुवात गरिएको छ । कार्यक्रमका फोकल पर्सन दीपक सापकोटाले नगर प्रमुख धु्रवकुमार शिवाकोटीलाई हात्तिपाइलेको औषधी खान दिएर अभियानको शुरुवात गरेका थिए । त्यस्तै नगर प्रमुख शिवाकोटीले प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल , नगर अस्पतालका मेडिकल अधिकृत डा. फरहान सिद्धिकीलगायतलाई औषधी खान दिएका थिए । नगरका १० वटै वडामा औषधी खुवाउने कार्यक्रम शुरु गरिसकिएको फोकल पर्सन सापकोटाले बताए । नगरका ६० वटा केन्द्रमा ६० जना स्वास्थ्यकर्मी र ३० जना स्वयंसेविका औषधी वितरणका लागि खटिएका थिए । शनिबारदेखि प्रत्येक वडाको टोलटोलमा खटिने सापकोटाले जानकारी दिए । बिर्तामोडमा १ लाख १५ हजारलाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्