बिर्तामोड , चैत २० । नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको नयाँ कार्यसमिति चयन भएको छ ।

शुक्रबार दुर्गापुरमा आयोजित प्रतिष्ठानको दोस्रो साधारणसभाबाट तीनबर्षे कार्यकालका लागि कनकाई उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमारमणी पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिमा निवर्तमान अध्यक्ष डा. चन्द्रप्रसाद यादव (सिपी), उपाध्यक्षमा लक्षेन्द्र यादव, शुभ कुमाई पाठक, सचिवमा लुभराज उप्रेती, सहसचिव ससिम पोखरेल, कोषाध्यक्ष उषा श्रेष्ठ, सहकोषाध्यक्ष विगत ओझा रहेका छन् । त्यसैगरी सदस्यहरुमा सन्तोष अग्रवाल, दिनेश पोखरेल, रुचि शिवाकोटी, किशोर क्षेत्री, सत्यदेव यादव सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. सिपीले आफ्नो कार्यकालमा गरिएका कार्यहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा २०७१ साल भाद्र २६ देखि ३० गतेसम्म बिर्तामोड–२ स्थित वीरअमर सिंह माध्यमिक विद्यालयका ४ सय ६१ जना विद्यार्थीको मुटु जाँच गरिएको उल्लेख छ । जसमा ५७ जना शंकास्पद मुटुका रोगीहरु पहिचान गरी निशुल्क उपचार गरिएको, २०७१ असोजमा विश्व मुटुरोग दिवसको दिन कञ्चनजंघा अस्पताल बिर्तामोडमा निशुल्क मुटुरोग परीक्षण तथा इसिजी सेवा गरिएको थियो । शिविरमा ४१६ जनाले सेवा लिएका थिए । २०७६ साल फागुन १७ गतेदेखि १९ गतेसम्म नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौं र रोटरी क्लव बिर्तामोड मिडटाउनसंगको सहकार्यमा आदर्श माध्यमिक विद्यालय मेचीनगर–८, दुर्गा सेकेण्डरी स्कुल बिर्तामोड–९, मोहनमाया माध्यमिक विद्यालय बिर्तामोड–२, देवकोटा आधारभूत विद्यालय बिर्तामोड–९, लक्ष्मीनारायण प्रा.वि. बिर्तामोड–१०, वीरअमर सिंह माध्यमिक विद्यालय बिर्तामोड–२, देवी माध्यमिक विद्यालय बिर्तामोड–५ र विरेन्द्र माध्यमिक भद्रपुर–७ गरी ६ हजार ४ सय जना विद्यार्थीको स्वास्थ्य चेकजाँच गरिएको थियो । स्वास्थ्य जाँच गरिएका विद्यार्थीहरुमध्ये ६ सय ३५ जनाको इसिएचओ, १३ जनाको आरएचडी, २५ जनाको सिएचडी गरिएको थियो । एकजनाको सर्जरी अप्रेसन र एकजनाको मेडिकल सर्जरी निशुल्क गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा स्वागत भीम खवासले गरेका थिए भने संचालन लक्षेन्द्र यादवले गरेका थिए ।