सपना आचार्य,
माई इलाम । समाजमा रहेका कुरीति, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसारविरुद्धको एकमहिने सचेतनामुलक अभियान आईतबार माई नगरपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रमका सहभागीहरुले हिंसा अन्त्यका लागि परम्परागत सोच र संस्कारमा परिवर्तन ल्याउनु पर्ने धारणा राखेका थिए ।
माई नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि मेयर दिपककुमार थेबेले कुरीति, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसारविरुद्धको सचेतनामुलक अभियानमा नगरसंगको सहकार्यमा मानव अधिकार मञ्च, करुणा फाउण्डेसन नेपाल, स्वास्थ्य शाखा र महिला सशक्तिकरण समुहको भूमिका उल्लेखनीय रहेको जानकारी दिए । मेयर थेबेले हिंसा हेराइ, बोलाइ र ब्यवहारबाट हुने भएकाले विद्यालय तहमा किशोर किशोरीमार्फत हिंसा अन्त्यका लागि लाग्दा जघन्य अपराधको न्यूनीकरण गर्न सकिने धारणा राखे । उनले हिंसा अन्त्यका लागि जस्तोसुकै अभियान सञ्चालन गर्न नगर क्रियाशील रहने बताए ।
उपमेयर बिष्णुमाया आचार्यले वडा-वडामा रहेका महिला सशक्तिकरण समूहले महिला हिंसा न्यूनीकरणमा सहयोग गरेको भन्दै सोचेजस्तो उपलब्धि भने नभएको बताइन् । उनले महिला हिंसाका सन्दर्भमा सामाजिक पहुँच भएका ब्यक्तिकै भनाइ र ब्यवहार फरक रहने गरेको धारणा राखिन् । उपमेयर आचार्यले न्यायिक समितिलाई नै महिला हिंसाको सन्दर्भमा स्वतन्त्र काम गर्न अवरोध रहने गरेको गुनासो गरिन् ।

स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले केही समयअघि संस्थागत बर्थिङ गराउने चार महिलामध्ये तीन जना २० बर्ष मुनिका रहेकोमा हाल सुधार भएको जानकारी दिए । तर, बाल विवाह र गर्भपतनको सन्दर्भलाई हेर्दा किशोरीहरु हिंसामा परेको उनले बताए ।
अनमी कमला श्रेष्ठले अविवाहित र विवाहित महिला पनि इच्छाबिनाको गर्भपतन गर्न समयसीमा नाघेर आउने गरेकाले थप समस्या रहने धारणा राखिन् ।
लोदिया प्रहरी चौकीका प्रमुख पदमसुन्दर लावतीले महिला हिंसाका घटनामा पछिल्लो समय सम्बन्ध बिच्छेद, दुव्र्यवहार र अमानवीय क्रियाकलाप आउने गरेकोमा सुरक्षा निकायले यसलाई कानुनी बाटोमा पठाउने गरेको जानकारी दिए ।
सशस्त्र प्रहरी बेश क्याम्प दानाबारीका प्रमुख दिलिपकुमार श्रेष्ठले सशस्त्र प्रहरीको क्याम्प सीमा क्षेत्रमा रहेकाले मानव बेचबिखनमा न्यूनीकरण आएको दावी गरे ।
महिला बालबालिका शाखा प्रमुख जमुना पौड्यालले माई नगरपालिकाको तथ्याङ्क हेर्दा ३३ प्रतिशत महिलाले अझै पनि १६ बर्षभन्दा कम उमेरमा सुत्केरी हुने गरेकाले समस्या बिकराल बन्दै गएको धारणा राखिन् ।
कार्यक्रममा माओबादी केन्द्रका अध्यक्ष धनबहादुर लिम्बुले संस्कार र परम्परालाई परिवर्तन गर्न नसक्ने हो भने कानुनी पाटो कार्यान्वयन गर्न असहज रहने धारणा राखे ।
करुणा फाउण्डेसन नेपालका समुदाय संयोजक विमल दहालले विद्यालय शिक्षा, सुनौला हजार दिनका आमाहरुलाई स्वास्थ्य शिक्षा, स्वास्थ्य अभिमुखीकरण कार्यक्रमले हिंसा न्यूनीकरण गर्न सहज भएको बताए ।
मानव अधिकार मञ्चकी निरुता थापाले हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै गरेको जानकारी दिइन् ।
नगरभित्रका सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, सुरक्षा निकाय, संघसंस्थाका प्रतिनिधि र सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन महिला शाखा प्रमुख जमुना पौड्याल र अध्यक्षता उपमेयर बिष्णुमाया आचार्यले गरेका थिए । कार्यक्रम एक महिनासम्म विभिन्न अभियान सन्चालन भई आईतबार सम्पन्न भएको हो ।