झापा , चैत २६ । अलैंची व्यवसाय तथा खेतीमा आबद्ध महिलाहरुका लागि झापामा तीनदिने क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको छ ।

नेपाल अलैंची व्यवसायी महासंघअन्तर्गतको ठूलो अलैंची प्रवद्र्धनका लागि महिला सञ्जालको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
एक समारोहका बीच बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरेको तालिम शुक्रबारसम्म सञ्चालन हुने छ ।

सञ्जालकी सचिव संगीता चिमरियाले सञ्चालन र कोषाध्यक्ष सुमित्रा भट्टराईले स्वागत गरेको उद्घाटन समारोहमा प्रमुख अतिथि उपप्रमुख प्रसाईंले आयमूलक व्यवसाय तथा खेतीमा महिलाको संलग्नता प्रेरणादायक रहेको बताउँदै सबै क्षेत्रका महिलाहरुको क्षमता अभिबृद्धि आजको आवश्यकता रहेको उल्लेख गरिन् । उनले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उपयोग गर्न पनि आग्रह गरिन् । तालिमको सहजीकरण संगीता थापाले गरिरहेकी छन् । तालिममा मारवाडी समुदायका महिलाको उल्लेख्य सहभागिता रहेको छ ।

सञ्जालकी अध्यक्ष सुष्मा भण्डारी पौडेलले सञ्जालको उद्देश्यमाथि प्रकाश पार्दे अलैंची व्यवसाय तथा खेतीमा संलग्न महिलाले पुरुषसरह काम गर्न सकून्, सार्वजनिक स्थानमा डर संकोचबाट माथि उठ्न सकुन् भन्ने उद्देश्यले सञ्जालको गठनसँगै क्षमता अभिबृद्धि तालिम आयोजना गरिएको बताइन् । उनले तयारी अलैंचीको ग्रेडिङ, कटिङजस्ता काममा मजदूरको रुपमा काम गरिरहेका महिलाहरुका लागि पनि क्षमता तथा सीप विकासका तालिम सञ्चालन गरिने जानकारी दिइन् ।
उद्घाटनका अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, उद्यमी महिला महासंघ झापाकी अध्यक्ष गोमा भट्टराई, नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, महासचिव सुवास भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तालिममा झापालगायत पूर्वी पहाडी जिल्लाका ३० जना महिला अलैंची व्यवसायी तथा किसानको सहभागिता रहेको महासंघका कार्यालय प्रमुख अनिल ढुंगानाले जानकारी दिए ।

यसअघि महासंघले अलैंचीमा आबद्ध महिलाहरुका लागि इलामको मंगलबारेमा अलैंचीको बोटबाट हस्तकलाका सामग्री निर्माणसम्बन्धी ९ दिने प्रशिक्षण सम्पन्न गरिसकेको छ भने सोही प्रकारको प्रशिक्षण महासंघको शाखा रहेका अलैंची उत्पादन हुने अन्य जिल्लामा पनि सञ्चालन गर्ने योजना रहेको ढुंगानाको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्