कुमरखोद चैत ३० । झापा गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई साईकल वितरण गरेको छ ।

झापा गाउँपालिकाभित्र जम्मा ५ वटा सामुदायिक माध्यमिक विद्यालयहरु रहेका छन् । कक्षा ९ मा पढ्ने सम्पूर्ण छात्राहरुलाई साईकल वितरण गरिएको हो । गाउँपालिकाले सोमवार एक कार्यक्रमकाबीच ५ वटा सामुदायिक विद्यालयमध्ये ३ वटा विद्यालयका छात्राहरुलाई साईकल वितरण गरेको हो । साईकल वितरण गरिएका विद्यालयहरुमा डिल्लीराज माविका १०१ जना , कुवाडीदेवी माविका ३८ जना र महेन्द्र माविका ११ जना रहेका छन् । बाँकी २ वटा सामुदायिक विद्यालयलाई पनि निरन्तरता दिइने जनाइएको छ । झापा गाउँपालिकाले विपन्न परिवारका छात्राहरुलाई लक्षित गरी गरिएको यो कार्यक्रमले विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि , विद्यार्थीको नियमितता , विद्यार्थीको हौसलामा वृद्धि हुने अध्यक्ष जयनारायण शाहले बिश्वास गरेका छन् ।