दमक, बैशाख ६ । दमक ९ मा रहेको निम्स नेशनल अस्पताल दमकले सोमबारदेखि थप सेवा विस्तार गरेको छ ।

अस्पतालले सोमबार एक कार्यक्रम गरी सघन उपचार कक्ष (आइसीयू ) र एनआइसीयूको एकैसाथ सेवा विस्तार गरेको हो । आइसीयू ,एनआइसीयू दुवै पाँच , पाँच शैय्याको हुनेछन् ।
ती दुवै सेवाको शुभारम्भ नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले गरेका हुन् । सेवा विस्तारको उद्घाटन गर्दे नगर प्रमुख ओलीले निजी क्षेत्रका स्वास्थ्य संस्थाले पुर्याएको योगदान अव्वल भएको औल्याए । उनले छोटो समयमा नै अस्पतालले यहाँका लागि गुणस्तरीय स्वास्थ्य सेवा पुर्याएको चर्चा गरे ।
अस्पतालका अध्यक्ष बलभद्र कोईरालाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा
दमक वडा न. ९ का वडा अध्यक्ष रामबहादुर धिमाललगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा अध्यक्ष कोइरालाले अस्पतालको अवस्था ,सेवा र भावी योजनाहरुको बारेमा जानकारी गराएका थिए । अध्यक्ष कोइरालाका अनुसार चार वर्षअघि भाडाको घरमा शुरु गरिएको अस्पताल अहिले आफ्नै सुविधासम्पन्न भवनमा सञ्चालन हँुदै आएको छ । २५ शैय्याको सो अस्पतालले २४ सै घण्टा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउँदै आएको उनले जनाए । अस्पतालमा हाल १९ जना चिकित्सक सहित एक सय कर्मचारी छन् ।
सोहि अवसरमा अस्पतालले नयाँ बर्ष २०७८ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको अस्पतालका सञ्चालक गणेश प्रधानले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्