बिर्तामोड , बैशाख ६ । जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरी सामाजिक कार्यमा लगाउने राम्रो प्रवृति बढ्दै गएको छ ।
यसक्रममा बिर्तामोड नगरपालिका वडा नं.–३ ग्रामकाली टोल निवासी टिका अधिकारीले आफ्नो जन्मदिनमा स्थानीय ग्रामकाली मन्दिरलाई ५ हजार १५१ रुपैयाँ प्रदान गरेका छन् । सहकारीकर्मी अधिकारीले आफ्नो जन्मदिनमा सो रकम मन्दिरको अक्षयकोषको लागि प्रदान गरेका हुन् । अक्षयकोषमा ६ लाखबढी रकम जम्मा भएको छ । अधिकारी विराट बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडमा कर्जा सुपरिवेक्षक, ग्रामकाली अखण्डदीप टोल विकास संस्थाका सचिव, कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान बिर्तामोड नगरसमितिका निवर्तमान सहसचिव र हाल सल्लाहकार सदस्य, विराट सामुदायिक अध्ययन केन्द्रका सदस्य, नारायण गोपाल स्मृति प्रतिष्ठानका अक्षयकोष दाता, नेपाल बाल संगठन झापाका सदस्यलगायत विभिन्न संघसंस्थाका आवद्ध छन् । उनले सबैले जन्मदिनमा केकमा गरिने खर्चलाई कटाएर सामाजिक भावनासहित लगानी गर्ने हो भने समाज रुपान्तरणमा कोषे ढुङ्गा हुनसक्ने बताएका छन् ।