बिर्तामोड , बैशाख ९ । नक्कली जग्गाधनी खडा गरी बिर्तामोडको करोडौंको जग्गा ठगी गर्ने भू–माफिया गिरोहका १० जना पक्राउ परेका छन् । घटनामा संलग्न ६ जना फरार रहेका छन् ।

बिर्तामोड नगरपालिका वडा नं १ स्थित अदुवा पुलबाट सय मिटर पश्चिम अतिथि सदन जाने बाटोतर्फको महेन्द्र राजमार्गमा जोडिएको स्व. टुंगबहादुर बस्नेतको नाममा रहेको कित्ता नं ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गालाई भू–माफियाहरुको गिरोहले संगठित रुपमा योजना बनाई ठगी गर्ने उद्धेश्यले नक्कली टुंगबहादुर बस्नेत खडा गरी मृत्यु भईसकेका टुंगबहादुर बस्नेतको नागरिकतामा भएको विवरण समावेश भएको नक्कली नागरिकता बनाई २०७७ असोज २८ गते काठमाण्डौ जिल्ला अदालतबाट बाह्रदशी गाउँपालिका वडा नं ३ घर भई हाल बिर्तामोड २,चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेसनामा बनाएका थिए । उक्त वारेसनामामार्फत बिर्तामोड ४ बस्ने रञ्जु राईको नाममा २०७७ मंसिर २१ गते राजीनामा पास गरेका थिए । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी परेपछि १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगर , अनुसन्धान समूह (आरआइटी),जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले सो घटनामा संलग्न रहेका विभिन्न १० जनालाई फरक–फरक मितिमा विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुमाथि ठगी,सरकारी छाप दस्तखत किर्ते,आपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका ३ स्थायी ठेगाना भई हाल बिर्तामोड २ चैतुबारी बस्ने३९ वर्षिय मंगलसिंह राजवंशी रहेका छन् । उनी गत फागुन १३ गते चैतुबारीबाट पक्राउ परेका थिए ।
मंगलसिंहले बलराम बि.क. र लिलाधर राजवशीसंगै सुरुङ्गाको कोटीहोममा गई धर्मशालामा बसोबास गर्ने वृद्ध देवीप्रसाद पाण्डेलाई पाँच लाख रुपैयाँ दिने प्रलोभन देखाई उनलाई नक्कली टुंगबहादुर बस्नेतको रुपमा खडा गरेका थिए । उनले टुंगबहादुर बस्नेतको धर्मपुत्रको रुपमा भूमिका खेलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । त्यस्तै नक्कली टुंगबहादुर बस्नेतबाट काठमाण्डौ जिल्ला अदालतबाट बिर्तामोड १ मा रहेको कि.न. ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा बेचबिखन गर्न पाउने गरी अधिकृत वारेसनामा लिई सो जग्गा रञ्जु राईको नाममा मंगलसिंहले मालपोत कार्यालय भद्रपुर झापाबाट राजीनामा पास गरेका थिए । त्यस्तै नापी कार्यालयका पूर्व कर्मचारी तथा नमस्ते होटल चन्द्रगढीका संचालक भद्रपुर ७ बस्ने ५२ वर्षिय नवीन कोइराला बैशाख ३ गते चन्द्रगढीबाट पक्राउ परेका छन् ।
उनी योजना बनाउने कार्यमा सहभागी थिए । टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा पत्ता लगाउने, धनीपूर्जा किर्ते गर्ने र उनको नागरिकताको विवरण ईलामसम्म गई पत्ता लगाई किर्ते गरी नागरिकता बनाउने कार्यमा गिरोहलाई सहयोग गरेको र बिभिन्न समयमा उक्त काम गर्नको लागि भनेर गोविन्द बान्तवाबाट चौध लाख रुपैयाँ कोइरालाले लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।त्यस्तै जग्गा व्यापारी बाह्रदशी गाउँपालिका ५ बस्ने ५० वर्षिय लिलाधर राजवंशी पक्राउ परेका छन् । बाह्रदशी ५फूलबारीबाट चैत ९ गते उनी पक्राउ परेका हुन् । नक्कली टुंगबहादुर बस्नेत खडा गर्ने क्रममा उपयुक्त व्यक्ति पहिचान गरी योजनामा सरसहयोग गरेको र मंगलसिंह राजवंशीलाई ठूलो रकम फाइदा हुने प्रलोभन देखाइ उनको धर्मपुत्रको रुपमा कार्य गर्न प्रेरित गरेको लिालाधरमाथि आरोप लागेको छ ।उनले सुरुङ्गाको कोटीहोममा देवीप्रसाद पाण्डे बस्ने गरेको ठाउँ पत्ता लगाई उनलाई यस योजनामा सकारात्मक बनाई बलराम बि.क. र मंगलसिंह राजवंशीसंग बारम्बार भेट गराएको , अधिकृत वारेसनामा कार्यको लागि काठमाण्डौँ जाने क्रममा बलराम वि.क. र मंगलसिंह राजवंशीलाई भेटघाट गराई पाण्डेलाई आफ्नो मोटरसाइकलमा चढाई चारपानेसम्म ल्याई उनको हुलिया परिवर्तन गराई राजन विश्वकर्माले चलाउने गरेको स्कोरपियो गाडीमा चढाई पठाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । त्यस्तै भूमाफिया गिरोहका अर्का सदस्य तिवारीभञ्ज्याङ्ग २ भोजपुर स्थायी ठेगाना भई हाल गौरीगंज १ बस्ने ३७ वर्षिय बलराम विश्वकर्मा(सुशिल) पक्राउ परेका छन् । काठमाण्डौंको डल्लुबाट उनलाई चैत ६ गते पक्राउ गरिएको हो ।
लेखनाथ खनाल,प्रकाश कार्की,नवीन कोइराला,भुपदेव कटुवाल,गोविन्द बान्तवासंग मिली स्व. टुंगबहादुर बस्नेतको जग्गा हत्याउने योजना विश्वकर्माले बनाएका थिए । नक्कली टुंगबहादुर बस्नेतको रुपमा काम गर्न देवीप्रसाद पाण्डेलाई पाँच लाख दिने प्रलोभन दिई मंगलसिंह राजवंशी,गौरादह वडा नं ७ का वडाध्यक्ष बलराम खरेललाई काठमाण्डौसम्म लगी अधिकृत वारेसनामा बनाउने कार्यको लागि मुख्य भूमिका खेलेको, भुपदेव कटुवालसंग मिली टुंगबहादुर बस्नेतको नागरिकतामा भएको विवरण समावेश गरी देवीप्रसाद पाण्डेको फोटो टाँसी नक्कली नागरिकता बनाउने कार्य गराएको,मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेसनामा लिई टुंगबहादुर बस्नेतको जग्गा रञ्जु राईको नाममा पास गराउन मालपोत कार्यालय झापामा गई लिखत कागजातमा साक्षी समेत बसेको,मालपोत कार्यालयबाट जग्गा पास गर्नको लागि आवश्यक हुने घरबाटो सिफारिस,तिरो तिरेको रसिद गौरादह वडा नं ७ का वडाध्यक्ष खरेलसंग मिली किर्ते गरी नक्कली डकुमेन्टहरु बनाएको प्रहरीले जनाएको छ । त्यस्तै शिवसताक्षी नगरपालिका ८ घर भएका नेपाल विद्युत प्राधिकरण फिक्कल शाखाका कर्मचारी ४२ वर्षिय भुपदेव कटुवाल बैशाख ४ गते बिर्तामोड ६ घण्टीबारीबाट पक्राउ परेका छन् ।
उनले स्व.टुंगबहादुर बस्नेतको नक्कली नागरिकता प्रतिलिपि बनाएको,अधिकृत वारेसनामा गर्ने कार्यको लागि काठमाण्डौ गई प्रतिवादी देवबहादुर बिष्टलाई सहमत गराई उनी मार्फत काठमाण्डौमा अनुकूल वातावरण बनाउने कार्य गराई बलराम वि.क,मंगलसिंह राजवंशी,बलराम खरेल र देवीप्रसाद पाण्डेलाई बोलाएको अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै अर्जुनधारा नगरपालिका ५ ठेगाना भई बिर्तामोडमा ट्याक्टर सोरुम संचालन गर्ने तथा जग्गा किनबेचसम्बन्धी काम गर्ने ५३ वर्षिय लेखनाथ खनाल पक्राउ परेका छन् । प्रहरीका अनुसार खनालले सुरु योजना निर्माण कार्यमा भूमिका देखिएको,जग्गालाई बेचबिखन गरी सल्ट्याउने कार्य गर्नको लागि जग्गाको कारोवार गर्ने दोभान कन्स्ट्रक्सन कम्पनीका संचालक गोबिन्द बान्तवा(मिलन) लाई योजनामा सरिक गराएको र यस कार्यको लागि आवश्यक पर्ने रकमको बन्दोबस्त गर्ने काममा मध्यस्थकर्ताको भूमिकामा रही गोबिन्द बान्तवा(मिलन) बाट पैसा लिई गिरोहलाई सरसहयोग गरेको ,मालपोत कार्यालयको कामको लागि कर्मचारीसंग सहज रुपमा काम गर्ने वातावरण मिलाएको र राजीनामा लिखतमा साक्षीसमेत बसेको खुलेको छ ।उनी बैशाख ६ गते काठमाण्डौंको डल्लुबाट पक्राउ परेका हुन् । त्यस्तै दोभान कन्स्ट्रक्सन कम्पनी बिर्तामोडका संचालक ३४ वर्षिय गोविन्द वान्तवा (मिलन) पक्राउ परेका छन् । बिर्तामोड ४ बस्ने बान्तवाले टुंगबहादुर बस्नेतको जग्गा मंगलसिंह राजवंशीको अधिकृत वारेसनामामार्फत आफ्नो श्रीमतीको नाममा राजीनामा पास गराएको ,योजनालाई सफल बनाउन आवश्यक रकम बन्दोवस्त गर्ने कार्य गरेको प्रहरीले बताएको छ ।उनी पनि बैशाख ६ गते काठमाण्डौंको डल्लुबाट पक्राउ परेका हुन् ।
त्यस्तै नक्कली टुंगबहादुर बस्नेत बन्ने बिर्तामोड १० का ७१ वर्षिय देवीप्रसाद पाण्डे पक्राउ परेका छन् । उनी चैत ८ गते विराटपोखरबाट पक्राउ परेका हुन् । कोटिहोम सुरुङ्गा बस्ने पाण्डेले नक्कली टुंगबहादुर बस्नेतको भूमिकामा प्रस्तुत भई मंगलसिंह राजवंशीलाई अधिकृत वारेसनामा दिएका थिए । त्यसैगरी जग्गा आफ्नो नाममा पार्ने बिर्तामोड ४ की ३३ वर्षिया रञ्जु राई पक्राउ परेकी छन् । उनलाई पनि चैत ६ गते काठमाण्डौंको डल्लुबाट पक्राउ गरिएको हो ।
उनले आफ्नो श्रीमान् गोविन्द बान्तवालगायत अन्य योजनाकारहरुको सहमतिमा स्व. टुंगबहादुर बस्नेतको जग्गा मंगलसिंह राजवंशीले पाएको अधिकृत वारेसनामामार्फत बेचबिखन गर्न असहज हुने देखेर आफ्नो नाममा राजीनामा पास गराएको प्रहरीले जनाएको छ । सोही मिति र सोही ठाउँबाट मोरङ उर्लाबारी ४ बस्ने ४८ वर्षिय राजन विश्वकर्मा पक्राउ परेका छन् ।प्रतिवादीहरुले अधिकृत वारेसनामाको क्रममा र प्रतिवादी मंगलसिंह राजवंशी पक्राउ परेपछि फरार हुने क्रममा राजन विश्वकर्माको गाडी प्रयोग गरेको देखिएको छ । अन्य प्रतिवादीहरुको अनुरोधमा विभिन्न सिम कार्ड निकाल्न विश्वकर्माले सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ । त्यस्तै घटनामा संलग्न ६ जना फरार रहेका छन् । फरार हुनेमा गौरादह वडा नं ७ का वडाध्यक्ष बलराम खरेल छन् ।उनले किर्ते कागजात तयार गर्न सहयोग गरेको, अधिकृत वारेसनामा गर्ने कार्यको लागि अन्य प्रतिवादीहरुसंगै काठमाण्डौ जिल्ला अदालतसम्म गई समन्वयात्मक भूमिका खेलेको तथा अन्य प्रतिवादीहररुलाई भाग्न भगाउने कार्यमा संलग्न भएको देखिएको छ । त्यस्तै अर्का फरार प्रतिवादी
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अधिकृत चेतन अधिकारी रहेका छन् ।उनले बैंकिङ्ग कारोवार लगायतका प्रकृयाहरु नपुग्दै राजीनामा पास गर्नको लागि लिखत पारित गरिदिएको देखिएको छ ।
त्यस्तै घटनामा संलग्न भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका तत्कालीन नायव सुब्बा हरि तिवारी पनि फरार छन् ।उनले स्व. टुंगबहादुर बस्नेतको जग्गा धनीपूर्जामा भएको फोटो र नक्कली टुंगबहादुर बस्नेतको फोटो भएको धनी पूर्जालाई रुजु नगरी मोठ भिडाएको पाइएको छ । त्यस्तै ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका ७ बस्ने ५६ वर्षिय बेगप्रसाद कोइराला पनि फरार छन् । उनी मंगलसिंह राजवंशीलाई नक्कली टुंगबहादुर बस्नेतमार्फत अधिकृत वारेसनामा दिलाउने कार्यमा साक्षी बसेका थिए । त्यस्तै काठमाण्डौमा जिल्ला अदालतमा अधिकृत वारेसनामा कार्यमा साक्षी बस्ने खोटाङ हलेसी तुवाचुङ्ग नगरपालिका – ११ स्थायी ठेगाना भई काँडाघारी काठमाण्डौ बस्ने ३२ वर्षिय देवबहादुर बिष्ट पनि फरार छन् ।
उनी अधिकृत वारेसनामाको लिखत प्रकृयाको लागि कानून व्यवसायीको बन्दोवस्त गरी सो लिखतमा साक्षी बसेका थिए । त्यसैगरी भद्रपुर वडा नं ७ बस्ने ५३ वर्षिय प्रकाश कार्की पनि फरार रहेका छन् ।उनले योजना निर्माण कार्यमा संलग्न रही अधिकृत वारेसनामा तथा जग्गा पास गर्ने कार्यको लागि सहज वातावरण मिलाइदिने कार्य गरेको र टुंगबहादुर बस्नेतको श्रेस्तामा कायम रहेका जग्गासम्बन्धी सूचना संकलन गरि गिरोहलाई सम्प्रेषण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । उनले पक्राउ परेका व्यक्तिहरुमध्ये अधिकांशहरु जग्गाको किनबेच कार्यमा संग्लग्न रहेको बताए । पूर्व कर्मचारी र मालपोत कार्यालयमा आवतजावत गरिरहने जग्गाको कारोबारमा संलग्न व्यक्तिहरुको मिलेमतोमा उक्त योजना आजभन्दा ३ बर्ष अगाडिदेखि बनाई पटकपटक बिर्तामोडमा बैठक गरी रञ्जु राईको नाममा ल्याउने कार्य सफल गराएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिएका छन् ।
Mero yek jana dusman ni parex