झापा, बैशाख ९ । झापाको कमल ५ सितापुरीमा रुखको हाँगा भाच्चिएर एक जना बालकको मृत्यु भएको छ ।
बुबासँग नर्सरीमा दाउरा टिप्न गएको बेला ८ बर्षीय योजन राईको बिहीवार मृत्यु भएको हो । रतुवा माई वृक्षरोपण आयोजनाको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हागा भाच्चिएर लाग्दा उनी गम्भीर घाईते भएका थिए ।उनको दमक अस्पताल दमकमा पुर्याउनासाथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
त्यस्तै मोरङको कानेपोखरी–२ दलेलीकी ४३ बर्षीया सुकवती राजवंशीको चट्याङले लागेर मृत्यु भएको छ । बिहीबार बिहान साढे ८ बजे पानी परिरहेको बेला घरनजिकै गाईगोरू सार्न जाने क्रममा चट्याङ लागेर उनी गम्भीर घाईते भएकी थिईन् । घाईते राजबंशीको उपचारको लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगेकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
त्यस्तै सुनसरी ईनरुवा नगरपालिका ९ बबिया की ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोलले लागेर मृत्यु भएको छ ।
बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को १ क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर लाग्दा उक्त बिजुलीको पोल ढलेर घरमा बसिरहेकी खत्वेलाई लाग्दा गम्भीर घाईते भएकी थिइन् । उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बेलुका सवा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्काभेटर नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।