झापा , बैशाख ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् ।

लोकतन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीले धरहराको उद्घाटन गरेका हुन् । ६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको नौतले धरहरा ढलेको थियो । धरहरा ढल्दा ६० जनाले जीवन गुमाएका थिए । सयौँ मानिस घाइते भए । काठमाडौं उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनर्निर्माण गर्न ६ वर्ष लागेको छ । भत्किएको धरहरा यथावत् राखी नजिकै २२ तले अर्को धरहरा निर्माण गरिएको हो । अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित चारतले भूकम्प र टक्सारसम्बन्धी संग्रहालय निर्माण भइरहेको छ । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कुल लागत तीन अर्ब ४८ करोड रूपैयाँ रहेको छ ।
जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भ¥याङसमेत जडान गरिएको छ ।