झापा , बैशाख ११ । शुक्रबार बिर्तामोड ४ का दुई वर्ष ५ महिनाका एक बालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । बालक संक्रमित भएपनि उनका बाबुआमा भने स्वस्थ छन् ।

केही दिनअघि बिर्तामोडकै १५ वर्ष मुनिका अर्का एक बालकलाई पनि संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखाका दीपक सापकोटाले बताए । कोरोना भाइरस संक्रमणको दोस्रो लहरले बालबालिकाहरु नराम्ररी प्रभावित भएका छन् । नेपालमा पछिल्लो समय कुल संक्रमितमध्ये १० प्रतिशत बालबालिका छन् । झापामा दोस्रो लहरमा करिव एक महिनायता कूल ९३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १८ वर्ष मुनिका ९ जना बालबालिका छन् । पहिलो लहरमा बृद्धबृद्धालाई संक्रमणको जोखिम रहेकोमा अहिले बालबालिकाहरुलाई संक्रमण देखिन थालेको जिल्ला स्वास्थय कार्यालयका फोकल पर्सन जीवन चांैलागाईले बताए । उनले आफ्ना बालबालिकाहरुलाई संक्रमणबाट जोगाउन आग्रह गरे ।

बालबालिकाहरुलाई कोरोना संक्रमण देखिन थालेपछि शहरी क्षेत्रका विद्यालयहरु बन्द छन् । झापाको बिर्तामोड , मेचीनगर र दमक क्षेत्रका विद्यालयहरु गत साताबाट बन्द गरिएका छन् । १८ वर्ष मुनिका बालबालिकाहरुलाई संक्रमणको जोखिम भएका कारण भीडभाडमा जान नदिन र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन बिर्तामोड नगरपालिकाका सिनियर अहेव सापकोटाले आग्रह गरे ।
अहिले अस्पतालको ओपिडीमा उपचारका लागि बालबालिकामध्ये ५० प्रतिशतमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको चिकित्सकहरुको भनाइ छ । तीन सातायता ‘सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ जस्ता समस्या भएका धेरै बालबालिका अस्पताल आउने गरेको उनीहरु बताउँछन् ।

कम उमेर समूहका बालबालिकामा पहिलो लहरको तुलनामा कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर निकै बढेको हो । कोरोना संक्रमणको पहिलो लहरमा अहिलेजस्तो बालबालिका प्रभावित भएका थिएनन् । सरकारले बालबालिकामा संक्रमण दर बढेपछि अति प्रभावित क्षेत्रका विद्यालयमा वैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित नभइकन पठनपाठन सञ्चालन गर्न निर्देशन दिइसकेको छ । भौतिक उपस्थितिसहितको पठनपाठनमा रोक लगाए पनि घरबाहिर निस्कने अभिभावक तथा परिवारका सदस्यहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउने गर्दा बालबालिकामा जोखिम बढेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् ।

संक्रमण दर यही अनुपातमा बढ्दै जाने हो भने बालबालिकाको उपचार व्यवस्थापन कसरी गर्ने भन्नेतर्फ ध्यान दिन अत्यन्त जरुरी भएको उनको भनाइ छ ।
कोरोनाको पहिलो लहरबाट पाठ सिक्दै अस्पताल र जनशक्तिको क्षमता अभिवृद्धि गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आएको छ । कोरोना संक्रमित बालबालिकामध्ये कतिपयमा ‘मल्टी सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम इन चिल्ड्रेन’ जस्तो जटिल स्वास्थ्य समस्या देखिएको पाइएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमित बालबालिकामा ज्वरो आउने, पेट दुख्ने, शरीरमा डाबर देखिने, श्वासप्रश्वासमा समस्या हुने, झाडापखाला लाग्नेजस्ता लक्षण पाइएको छ । तर, यी लक्षण गर्मीयाममा संक्रामक रोग लाग्दासमेत देखापर्ने हुँदा अभिभावकहरु अन्योलमा पर्ने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्