बिर्तामोड , बैशाख ११ । अशोक शर्माले सिलौटा बनाएर बेच्ने गरेको पुस्तौं भयो ।

बाबुबाजेले थालेको पुख्र्यौली पेशा उनले पनि अँगाले । विगत लामो समयदेखि बिर्तामोड ३ को सैनिकमोड चोकमा उनले सिलौटा बनाएर बिक्री गर्दै आएका छन् । ढुंगामा बुट्टा कुँदेर सिलौटा बनाउने गरेका उनले त्यही पेशाबाट परिवार राम्ररी नै चलाउँदै आएका छन् । सिलौटाकै आम्दानीबाट उनको ७ जनाको परिवारको गुजारा चलेको छ ।

अशोकले यो पेशा गरेको ३० वर्ष भयो । करिब सय वर्षअघि उनका पूर्वजले यो पेशा थालेका थिए । बाजे अनि त्यसपछि बाबुले पनि त्यही ढुंगा नै कुँदेर गुजारा गरे । अहिले अशोकको परिवार धान्ने राम्रो माध्यम त्यही बनेको छ । सैनिकमोडमा उनी सिलौटा बनाउँछन् । त्यसलाई घोडामा राखेर गाउँगाउँ– टोलटोल बेच्छन् । ‘यसै व्यवसायबाट आफनो परिवारको गुजारा चलाउँदै छु ’उनले भने ,‘ गुजारा राम्ररी नै चलेको छ ।’ सिलौटा बनाउनका लागि उनी आफै खोलाबाट ढुंगा फुटाएर ल्याउँछन् । खोलाबाट घोडामा ल्याई बाटोदेखि घरसम्म गाडीमा ढुंगा ल्याउने गरेको उनले बताए । ढुंगा ल्याउँदा कर तिर्ने गरेको बताउने अशोकको अनुभवमा ढुंगामा बुट्टा कुँद्नु मेहनत लाग्छ । ‘ ढुंगामा बुट्टा कुँदेर सिलौटा बनाउन मेहनत लाग्छ ’उनले भने , मेहनतसँगै समय पनि लाग्छ ।’

पछिल्लो समय मिक्स्चर आएपछि सिलौटाको माग घटेको छ । मिक्स्चरमा सजिलो र छिटो बनाउन सकिने भएकाले सिलौटामा पिस्ने झन्झट गर्न छोड्दै गएका छन् । तर, अझै पनि धेरै गृहिणीहरु सिलौटा नै मन पराउँछन् । ‘मिक्स्चरमा पिसेर खानु भनेको रोगको भण्डार गर्नु बराबर हो’ अशोकले भने , ‘स्वस्थ खानपानको लागि भान्सामा सिलौटा प्रयोग गर्नु राम्रो हो ।’ सिलौटा उत्पादक अशोकसंग ३०० देखि ७०० रुपैयाँसम्मको सिलौटा छ । अशोक आफ्ना दुईवटा सानो घोडामा राखेर सिलौटा बिक्री गर्न जिल्लाका गाउँगाउँ पुग्छन् । शहर बजारमा भन्दा गाउँमा सिलौटाको माग राम्रै रहेको उनले बताए । ‘दिनमा ४–५ वटा बिक्री भइहाल्छ ’उनले भने , ‘ पेशाप्रति सन्तुष्ट छु ।’ जिल्लाभरि घुमेपनि उनले आफ्नो शोरुम भने सैनिकमोडलाई नै बनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्