झापा , बैशाख ११ । झापाको कमल गाउँपालिका–४ मा मोटरसाइकलले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ ।

शनिबार अपरान्ह सितापुरी भन्ने स्थानमा प्र–१–०१–०१२ प १६०२ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही गाउँपालिका ५ बस्ने ७ वर्षीय निश्चल खड्कालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खड्कालाई दमकस्थित लाइफलाइन अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको दमक ट्राफिकले जानकारी दिएको छ । ठक्कर दिने सवारी र चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै खोटाङ हलेसीतुवाचुङ नगरपालिका १ कदुवास्थित पहाडी लोकमार्गमा शनिबार बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरीतर्फ फर्किदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । बा ३ ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसेर दुर्घटना हुँदा सो बसका सह–चालक सिन्धुली घ्याङलेक गाउँपालिका १ का २५ बर्षीय अनिल तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । २२ जना घाईतेमध्ये १६ जनाको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा चालकसहित ३९ जना यात्री सवार रहेका थिए । दुर्घटना भएको जानकारी पाएलगतै प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएर घाईतेहरुलाई उपचारको लागि पठाएको छ । उक्त दुर्घटनामा अबरुद्ध भएको सडक दिउँसो सवा २ बजे जेसीबी लगाएर दुर्घटना भएको बसलाई साईड लगाई बाटो सुचारु गराएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।