भद्रपुर , भदौ १३ । नेपाल बार एशोसिएसन झापाले कोभिड १९ को महामारीले विश्वव्यापी रुपमा पारेको प्रभावप्रति चिन्तित हुँदै आमनागरिकको स्वास्थ्यप्रति देशका ३ वटै तहका सरकारलाई संवेदनशील बन्न आग्रह गरेको छ ।

एशोसिएसन झापा तथा सोही मातहत रहेको मानव अधिकार तथा जनसरोकार समितिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संघीय , प्रदेश तथा स्थानीय सरकारले आमनागरिकको स्वास्थ्य सुरक्षाप्रति समयमै संवेदनशील बन्नुपर्ने अन्यथा समस्या जटिल बन्ने जनाएका छन् ।
सरोकार समिति संयोजक टंकप्रसाद दंगाल तथा एशोसिएसन अध्यक्ष हरिप्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोभिडको जोखिम उच्च अवस्थामा बढ्न सक्ने भन्दै दैनिक रुपमा हुने सरकारी कार्यालयहरुको भीडभाडलाई व्यवस्थापन गर्दै स्वास्थ्य मापदण्डको अनिवार्य पालना गराएर मात्र सेवा प्रवाहको व्यवस्था तत्काल मिलाउन आग्रह गरिएको छ । विज्ञप्तिमा हरेक सीमानाकामा हुने आवतजावतलाई कडाईका साथ निगरानी बढाउन र आमनागरिकको जीवन रक्षाका लागि सीमा क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई उचित स्वास्थ्य सामग्री उपलब्ध गराई कोभिड नियन्त्रण गर्न आग्रह गरिएको छ । त्यसैगरी आपतकालीन रुपमा आवश्यक पर्ने तरल पदार्थसहितको अक्सिजन तथा अन्य आवश्यकीय स्वास्थ्य सामग्रीसमेतको प्रवन्ध र व्यवस्थापन गर्न समेत विज्ञप्तिमार्फत माग गरिएको छ । विज्ञप्तिमा आफनो स्वास्थ्यको ख्याल राख्दै स्वास्थ्य सावधानी अपनाएर हिडडुल गर्न ,भीडभाड नगर्न र माक्स अनिवार्य लगाउन समेत सर्बसाधारणमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्