बिर्तामोड , बैशाख १८ । आर्थिक हैसियत गिर्दो अबस्थामा रहेका राजवंशी समुदायको लागि विकराल बन्दै दाइजो प्रथालाई न्यूनीकरण गर्दै जार्ने राजवंशी अगुवाहरुले सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले दाइजो प्रथालाई जरैदेखि उखेल्न देशव्यापी सामाजिक अभियान चलाउने सहमतिसमेत जनाएका छन् ।

आफ्नो आर्थिक हैसियतभन्दा बढी दाइजो दिनुपर्ने कुप्रथा समुदायमा हावी हुँदै गएपछि राजवंशी विकास प्रतिष्ठान झापाले शनिबार बिर्तामोडमा दाइजो न्यूनीकरणसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम राखेको थियो । अन्तरक्रियाका सहभागीहरुले दाइजो कुप्रथा भएकाले अन्य जाति समुदायसँग सहकार्य समन्वय गर्दै समाजबाट जरैदेखि उखेल्नका लागि देशभर सामाजिक अभियान संचालन गर्नेसहितका पाँच बुँदे प्रतिवद्धता जनाएका छन् । उनीहरुले राजवंशी जातिको संस्कार , संस्कृति , परम्परालाई कायम राख्दै असामाजिक कुसंस्कार, अन्धविश्वास र कुरीतिलाई हटाउन हर प्रयत्न गर्ने , शिक्षाको माध्यमबाट संस्कार र चेतनाको विकास गर्दै पैतृक सम्पतिमाथि समान अधिकारसहित श्रम , सीप , शिक्षा र आर्थिक उपार्जनमा महिलाहरुलाई अवसरसहित सहभागी गराउने , दाइजो प्रथा न्यूनीकरणसँगै अन्त्य गर्नका लागि नेपाल सरकारको प्रचलित कानूनलाई स्थानीय सरकारले समेत कार्यविधि बनाई कार्यान्वयन गर्न जोडदार माग गर्ने , समाजमा कुप्रथाको रुपमा व्याप्त महँगो तथा भद्धा विवाहजस्ता कार्यक्रम भएगरेमा त्यस्ता कार्यक्रमलाई रोक्न स्थानीय सरकार , जिल्ला प्रशासन कार्यालय , प्रहरीसमक्ष ध्यानाकर्षण गराउनेसमेत प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा संविधानसभा सदस्य हरिबहादुर राजवंशीले छोरीको विवाहमा ज्वाइँलाई मोटरसाइकल दाइजो दिर्नैपर्ने प्रचलनले समस्या ल्याएको बताए । उनले अरु समुदायभन्दा राजवंशी समुदायमा बढी हाउभाउ र तडकभडक हुन थालेको भन्दै विवाहमा माछा मासु हुनैपर्ने भोजभतेरको प्रचलन गलत भएको प्रतिक्रिया दिए । आफ्ना एकजना छिमेकीको उदाहरण दिँदै नेकपा एमाले झापाका सहइन्चार्ज समेत रहेका राजवंशीले भने , विदेशबाट कमाएको पैसाले १० धुर जग्गा र एउटा सानो घर बनाएका थिए ,छोरीको विहेमा ४ लाख ऋण गरे कसरी तिर्छन् होला ? उनले दाइजो प्रथालाई न्यूनीकरण मात्र होइन , जरैदेखि नै उखेल्नु पर्ने धारणा राखे ।

प्रदेश सांसद पूर्णसिंह राजवंशीले हिजोका करोडपति राजवंशीहरु आज रोडपति भएकाले दाइजो प्रथालाई थेग्नै नसकिने बताए । उनले आफ्ना दुईजना भतिजीहरुको विवाह गराइदिँदा बाध्यतावश मोटरसाइकल दाइजो दिएको बताउँदै औकातभन्दा बढी देखासिकी गरेर दिइने दाइजोलाई अन्त्य गरिनु पर्नेमा जोड दिए । छोरीलाई शिक्षासँगै आत्मनिर्भर बनाउनु पर्ने उनको भनाई थियो । प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव असारु राजवंशीले आफूहरु आर्थिक रुपमा सम्पन्न भएको भए दाइजोको समस्या हुने थिएन भन्दै आर्थिक हैसियत खस्किदै गएको अनि संस्कार संस्कृति महँगो बन्दा गाह्रो परिरहेको बताए । उनले बद्लिदो समयसँगै समाज रुपान्तरण आवश्यक भएको भन्दै उत्पादनको स्रोत साधनमाथि महिलाको पहँुच विस्तार गरिनु पर्नेमा जोड दिए । कार्यक्रममा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय झापाका प्रमुख कृष्णप्रसाद राजवंशीले उहिले राजवंशी जातिमा बाछी , गाग्रा , साइकल , घडीजस्ता सामान्य खालका सामान दाइजो दिने प्रचलन रहेको स्मरण गर्दै अहिले अन्य जाति समुदायबाट भित्रिएको मोटरसाइकल , कार दिने प्रचलनलाई न्यूनीकरण गर्न साझा सामाजिक दायित्व आवश्यक भएको बताए । सामाजिक संजालका माध्यमबाट यस्ता कुरीतिहरुलाई हटाउन सहयोग पुग्ने बताउँदै दाइजो नलिनेलाई सम्मान र दाइजो माग्नेलाई बहिष्कार गरिनु पर्ने धारणा राखे । बिर्तामोड नगरपालिका वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले प्राणघातक कोरोना जतिकै दाइजो प्रथाले समाजमा असर गरिरहेको बताउँदै वैवाहिक सम्बन्ध गाँस्दा सकेसम्म समान शिक्षा र स्तरलाई कायम गरिनु पर्ने बताए ।

राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा हल्दीबारी गाउँपालिकाका कार्यपालिका सदस्य खगेन राजवंशी , बिर्तामोड नगरपालिका वडा नं ४ का सदस्य राहुल शर्मा , राजवंशी समाज विकास समितिका केन्द्रीय सल्लाहकार पानीलाल राजवंशी , प्राज्ञ पवन राजवंशी , शिक्षकहरु भवानी राजवंशी , निरतलाल राजवंशी ,राजवंशी महिला समाजकी केन्द्रीय अध्यक्ष सनम राजवंशी , राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी , थारु कल्याणकारिणी सभाका लवकुमार चौधरीलगायतले दाइजोले घरपरिवार र समाजमा ल्याएको विकृतिका बारेमा आ–आफ्ना अनुभव सुनाएका थिए । प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन उपाध्यक्ष रुपा राजवंशीले गरेकी थिइन् । कोरोना बढ्दै गएका कारण सामाजिक दुरी कायम गरी मास्क र सेनिटाइजर प्रयोग गरी कार्यक्रम गरिएको सचिव राजवंशीले जानकारी दिए । राजवंशी समुदायमा दाइजोको चलन सतहमा सामान्य देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्