बिर्तामोड , बैशाख १९ । बिर्तामोड ३ स्थित मुसहर वस्तीकी दिलकुमारी ऋषिदेवले नजिकैको पसलमा खानेतेल किन्न जाँदा आधा लिटरको मूल्य १५० रुपैयाँ तिर्नुपर्यो ।जवकि उनले किन्ने गरेको सेलो सूर्यमुखी खानेतेलको बजार मूल्य आधा लिटरको १२० रुपैयाँ मात्र छ ।

व्यापारीले आधा लिटरमा ३० रुपैयाँ बढी ठगेपछि उनले तेल फिर्ता गरिन् । तर , ती व्यापारीले आफ्नो सामान फिर्ता नलिई मात्र १५ रुपैयाँ फर्काइदिए । १५ रुपैयाँ ठगेरै छोडे । यो ठगी र कालोबजारीको एउटा उदाहरण मात्र हो । कोरोना कहरका कारण निषेधाज्ञा हुने भएपछि व्यापारीहरुले कालोबजारी गर्न थालेका छन् । बजारमा १२० रुपैयाँ प्रतिकेजी पाइने मुसुरी दाल शनिबार आफूले १३० रुपैयाँमा किन्नु परेको मुसहर वस्तीकै अन्जु ऋषिदेव चौधरीले बताइन् । उनले ५० रुपैयाँमा तीनवटा पाइने लुगाधुने साबुन अब त्यति रकममा दुईवटा मात्र दिने गरेको गुनासो गरिन् । निषेधाज्ञा र लकडाउनको बहाना गरेर व्यापारीहरुले उपभोग्य वस्तुहरुको मूल्य बढाएका छन् ।
यसैबीच कोरोना संक्रमणको समयमा बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन नदिन र निषेधाज्ञाका समयमा बजारमा हुने कालोबजारी र खाद्य सामग्रीको मूल्यबृद्घि नियन्त्रण गर्न आइतबार मेचीनगरमा बजार अनुगमन गरिएको छ । नगरस्तरीय अनुगमन टोलीका संयोजक एवम् मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा खाद्य अधिकृत, मेची उद्योग बाणिज्य संघका पदाधिकारी, उपभोक्ता हित संरक्षण समितिका पदाधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मीसहितको टोलीले नगरको ९ र १० नम्बर वडाका दर्जनबढी पसलको अनुगमन गरेको थियो । टोलीले मुख्यः व्यापारिक केन्द्र धुलावारी बजारका खाद्य, फलफूल विस्कुटलगायतका पसलको अनुगमन गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमण रोक्न आइतबार मध्यरातदेखि निषेधाज्ञा लागू गरेको छ । त्यस बखत हुनसक्ने कालोबजारी, खाद्यसहित अत्यावश्यक वस्तुको कृत्रिम अभाव र मूल्यबृद्घि नियन्त्रण गर्न बजार अनुगमनलाई तीब्रता दिईएको नगरस्तरीय अनुगमन टोलीका संयोजक एवम् मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।
अनुगमन टोलीले अनुगमनका क्रममा विलविजक चुस्तदुरुस्त नराखेको, मूल्यसूची नराखेको , राखेको भएपनि त्यसलाई दैनिकरुपमा व्यवस्थापन नगरेको, पसलमा उपभोग्य मिति सकिएका खाद्य वस्तु फेला पारेको थियो । मेगा फुट्सको म्याङ्गे फ्रुट्स जुस, भवानी मसला एण्ड फूड उद्योगले उत्पादन गरेको दुर्गा मसलासहित विकेएम मसला उद्योग विराटनगरले उत्पादन गरेको विकेएम मिट मसला र विकास फुड उद्योगको पापडको उपभोग्य मिति समाप्त भएको फेला पारेको र ती वस्तु नष्ट गर्न सम्बन्धित व्यवसायीलाई भनिएको छ ।
टोलीले खुद्रा व्यवसायीहरुलाई होलसेल व्यवसायीले जारी गरेको विलविजक सुरक्षित राख्न र नगरपालिकाले आवश्यक परेका बखत माग गरेका बेला उपलब्ध गराउन भनेको छ । टोलीले जानकी किराना पसल, नुपूर भेराइटिज, सुहाना भेराइटिज, पाथीभरा स्टोर्स, मास भेराइटिज स्टोर्स, घिमिरे किराना पसललगायतको अनुगमन गरेको थियो । मुख्यः व्यापारिक केन्द्रविन्दु धुलावारी बजारमा चामल, दाल, चना, मटर, तेललगायतका खाद्यवस्तुमा मूल्यबृद्घि भएको अनुगमन टोलीले जनाएको छ । त्यस्ता वस्तुको मूल्यमा बृद्घि भएपनि धेरै खाद्यसामग्री अहिले बजारमा पाउन छाडिएको व्यवसायीहरुको भनाई छ ।
व्यवसायीहरुले आफूहरुले महंगो मूल्यमा खरिद गरेका कारण बिक्री गर्दा त्यस्ता वस्तुको मूल्यमा बृद्घि गर्नुपरेको अनुगमन टोलीसमक्ष प्रतिक्रिया दिएका थिए । उनीहरुका अनुसार दालमा प्रतिकेजी ७ देखि १०, चनामा प्रतिकेजी १०, चामलमा १० देखि १२ रुपैयाँ तथा सूर्यमुखी तेल प्रतिकार्टुन १ सयदेखि एकसय ५० रुपैयाँ, चिनीमा प्रतिकेजी १० रुपैयाँका दरले मूल्यबृद्घि भएको छ । मेचीनगर नगरपालिकाले थोक बिक्रेताहरुसँग एक्कासी मूल्यबृद्घिको कारण खोज्ने र आफ्नो मन खुशी मूल्यबृद्घि गर्ने थोक व्यवसायीलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
थोक बिक्रेताले सबै वस्तुमा मूल्य बढाएका कारण खुद्रा बिक्रेताले समेत बाध्य भएर मूल्य बढाउनु परेको व्यवसायीको भनाई छ ।
अनुगमन टोलीमा मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, कार्यकारी निर्देशक गोपाल बस्नेत, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी नायव निरीक्षक नरबहादुर तुम्वाहाम्फे ,उपभोक्ता मञ्च नेपाल झापा प्रतिनिधि सन्तोष न्यौपानेलगायतको सहभागिता रहेको थियो । यसैबीच झापा उद्योग वणिज्य संघले कोरोना महामारीको अहिलेको अवस्थामा कोरोना संक्रमणविरुद्ध सबैखाले स्वास्थ्य सुरक्षा अपनाएर उद्योग–व्यवसाय सञ्चालन गर्न उद्योगी–व्यवसायीहरुलाई आग्रह गरेको छ ।संघको आइतबार बसेको कार्यसमितिको आकस्मिक बैठकले त्यस्तो आह्वान गरेको हो । अहिलेको अवस्थामा झापामा पनि कोरोना संक्रमितको संख्या ५ सयको हाराहारीमा पुगेको उल्लेख गर्दै संघले सचेत रहन आग्रह गरेको छ ।
संघका अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा बसेको सीमित पदाधिकारीहरुको बैठकपछि संघले एक अपिल जारी गर्दै हालको संकटको अवस्थामा बजारमा हुनसक्ने दैनिक उपभोग्य बस्तुहरुको अभाव र मूल्यबृद्धिलाई संवेदनशील ढंगले लिँदै कुनै पनि कृत्रिम अभाव र अस्वाभाविक मूल्यबृद्धि नगर्न÷नगराउन अनुरोध गरेको छ ।‘निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको मातहतमा रहेको झापा उद्योग वाणिज्य संघ आफैमा जिम्मेवार संस्था भएकाले यस संस्थामा आबद्ध सबै सदस्यहरुको यस विषम परिस्थितिमा संवेदनशील र जिम्मेवार भूमिका आवश्यक छ नै, राज्यले गम्भीर ढंगले कोरोना संक्रमणलाई न्यूनीकरण गर्न गरेका महत्वपूर्ण निर्णयहरुलाई आत्मसात गर्दै व्यावसायिक भूमिका निर्वाह गर्न हामी सबै व्यवसायीहरुलाई हार्दिक अनुरोध गर्दछौं’, अपिलमा भनिएको छ ।संघले अहिलेको यो विशिष्ट परिस्थितिमा सरकारी निकायबाट बजार अनुगमन हुने हुँदा सबै व्यवसायीहरुले आफ्ना व्यवसायका मूल्यसूचीका साथै बिल–बिजक चुस्त–दुरुस्त राखी कारोवारलाई पारदर्शी बनाउन पनि आग्रह गरेको छ ।