भद्रपुर, बैशाख २१ । झापा मेचीनगर १५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा लागेको आगो २४ घण्टामा बितिसक्दा पनि निभाउन सकिएको छैन ।

हिजो बिहान ३ बजेतिर सल्किएको सो आगो अझै बलिरहेको छ । आगो अझै बलिरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक विकास राईले बताए । उनले आगो दन्किन केही कम भएपनि पूर्णरुपमा निभाउन नसकिएको जानकारी दिए । आगो निभाउन नसकेपछि दमकलहरु फर्किएका छन् । आगो निभाउन मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक गरी जिल्लाका पाँच तथा उर्लाबारी र कानेपोखरीको गरी ७ वटा दमकल परिचालन गरिएका थिए । त्यसमध्ये मेचीनगर र भद्रपुरका बाहेक अरु दमकल फर्किसकेको प्रसनि राईले बताए । दमकलसँगै जनपद प्रहरी र सशस्त्र प्रहरी ३०–३० जना खटिएका थिए ।त्योसँगै स्थानीयहरु पनि आगो निभाउन लागेका थिए । आगो निभाउन नसकेपछि सबै फर्किएको बताइएको छ । आगो निभाउने क्रममा एकजना प्रहरी जवान घाइते भएका थिए ।

निलकोठी भन्ने ठाउँमा रहेको ब्रिकेट फ्याक्ट्रीमा लागेको आगोबाट १० देखि १२ करोडसम्म क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट एउटा पुरै युनिट जलेर नष्ट भएको छ । आगलागीबाट फ्याक्ट्री , त्यहाँ रहेको मेशिन , ट्रयाक्टर , जेसीबी , कच्चा पदार्थ , तयारी कोइलालगायतका वस्तु जलेर नष्ट भएको संचालक आदित्य पराजुलीले बताए । आगलागीबाट ब्रिकेट बनाउन स्टक राखिएको ५० लाख केजी कच्चा पदार्थ जलेर नष्ट भएको उनले जानकारी दिए ।
उद्योगी चण्डी पराजुली र उनका छोरा आदित्य पराजुलीले संचालन गरेको सो उद्योगमा बिद्युत सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । करिव तीन वर्षअघि सो फ्याक्ट्री स्थापना गरिएको हो । फ्याक्ट्री डेढ विगाह क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्