बिर्तामोड ,बैशाख २१ । आइतबार बिर्तामोडका २७ जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यसको भोलिपल्ट सोमबार ४३ जना संक्रमित थपिए । यसरी बिर्तामोडले थेग्नै नसक्नेगरी कोरोना संक्रमित बढ्दै गएका छन् ।

संक्रमण दरलाई ब्रेक गर्नुको साटो झन् उच्च हुँदै गएको हो । कोरोनाको दोस्रो लहर शुरु भएयता नयाँ भेरियन्टका करिव दुई सयजना संक्रमित पुग्न लागेको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । उनले कोरोनाको औषधी नबनिसकेको अबस्थामा भीडभाडलाई नियन्त्रण गरेरै संक्रमण रोकथाम गर्नुपर्नेमा नसकिरहेको बताए । उनले संक्रमणलाई चेनब्रेक गर्न जरुरी भइसकेको बताए । घना आवादी भएको बिर्तामोड पहिलो लहरमा पनि कोरोनाको हटस्पट बन्न लागेको थियो । यतिबेला गाउँमा भन्दा शहरमा कोरोना संक्रमण बढ्दो छ । बिर्तामोडको जनसँख्यालाई नियन्त्रण गर्नु चुनौती देखिएको छ । बिर्तामोडको अबस्थालाई हेर्दा संक्रमित अप्रत्याशित रुपमा थपिदै गएको सिनियर अहेव दीपक सापकोटाले बताए । उनले अहिलेको निषेधाज्ञाले भीड नियन्त्रण हुन नसक्ने र त्यसबाट संक्रमण पनि नघट्ने बताए । कोरोना संक्रमण बहुत बढ्दो दरमा रहेको उनको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएकै दिन बिर्तामोडमा ह्वात्तै संक्रमित बढेका हुन् । मानिसहरु संक्रमणप्रति सचेत नभएको र सचेत हुँदाहुँदै लापर्वाही गर्ने गरेका कारण नियन्त्रण गर्न नसकिएको सापकोटाले बताए । पहिलो लहरमा परिवारका एक दुई जनामा संक्रमण देखिएकोमा दोस्रो लहरमा पुरै परिवारका सदस्यहरुलाई संक्रमण भएको उदाहरण बिर्तामोडमा छ । होम आइसोलेसनमा बस्नेहरुको लापर्वाहीले गर्दा संक्रमण विस्तार हुँदै गएको हो । ‘प्रत्येक दिन आइसोलेसनमा बस्नेहरुका बारेमा जानकारी लिने गरेका छौं ’ सापकोटाले भने ,‘ घरघरमा गएर निगरानी गर्न भने सकिरहेका छैनौं ।’ नगरपालिकाले अहिले नगर अस्पतालमा एन्टीजेन टेष्ट गर्दै आएको छ भने पीसीआर टेष्ट सुचारु गरेको छैन । लक्षण चिन्ह भएकाहरुलाई चिकित्सकको सिफारिसमा परीक्षणका लागि पठाइने गरिएको छ । सामूहिक रुपमा परीक्षण गर्दा अझ धेरैजनालाई संक्रमण देखिन सक्ने अनुमान गरिएको छ । बढ्दो कोरोना संक्रमणलाई रोक्न बिर्तामोड नगरपालिकाले मंगलबारदेखि बैशाख ३१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । सबैलाई क्वारेन्टाइनमा बस्नका लागि ११ दिनसम्म नगरपालिका बन्द गरिएको नगर प्रमुख धु्रवकुमार शिवाकोटीले बताए । उनले त्यस बीचमा समस्या देखिने ठाउँको पहिचान गरी रोकथामको प्रयास गरिने जानकारी दिए ।

क्वारेन्टाइन सुचारु गरिँदै
कोरोना संक्रमितको सँख्या थपिदै गएपछि बिर्तामोड नगरपालिकाले क्वारेन्टाइन सुचारु गर्ने भएको छ । मेची आँखा असपतालमा रहेको ५० बेडको क्वारेन्टाइनलाई सुचारु गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए । उनले विरामीलाई आबश्यक परेपछि त्यसलाई संचालनमा ल्याइने जानकारी दिए । त्यसैगरी संक्रमितका लागि नगरपालिकाका तर्फबाट मंगलबारदेखि एउटा एम्बुलेन्स संचालनमा ल्याइएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्