झापा, बैशाख २२ । झापामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चार पुरुष र दुई महिला रहेका छन् । दमकका दुई , मेचीनगरका एक , कनकाईका एक, बिर्तामोडका एक र भद्रपुरका एकजनाको मृत्यु भएको हो । दमक २ र १ नम्बर वडाका २ जनाको मृत्यु भएको हो । दमक वडा नं १ का ५६ वर्षिय पुरुषको आज दिउँसो मृत्यु भएको हो । दमकको कोभिड हस्पिटलबाट बिर्तामोडको बिएण्डसी हस्पिटलतर्फ ल्याउँदै गर्दा बाटैमा दिउँसो ३ बजे मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । उनलाई बैशाख १८ गते संक्रमण पुष्टि भएको थियो । त्यस्तै दमक २ का ७९ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । योसँगै दमकमा पछिल्लो लहरको कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै बिर्तामोड आज एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नं ५ की धिमाल थरकी ७३ वर्षिया वृद्धा रहेकी छन् । उनको आज दिउँसो १.१० बजे घरमै मृत्यु भएको हो । उनलाई हिजो उपचारका लागि अस्पताल लगिएकोमा अस्पतालले संभव नभएको भन्दै फर्काइदिएको थियो । दोस्रो लहर शुरु भएयता बिर्तामोडमा नयाँ भेरियन्टबाट पहिलो मृत्यु भएको हो । हालसम्म बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १४ पुगेको छ । बिर्तामोडमा आज २० महिला २३ पुरुष गरी ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज कनकाईका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं ३ का ४८ वर्षिय पुरुष रहेका छन् । उनको आज विहान विराटनगरको नोवेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । भारतको आसामबाट फर्किएपछि उनलाई संक्रमण पुष्टि भएको थियो । दोस्रो लहर शुरु भएयता कनकाईमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । त्यस्तै ७० को हाराहारीमा नयाँ भेरियन्टका संक्रमितको सँख्या पुगेको नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए । आज नै मेचीनगर–६ स्थित काँकरभिट्टाकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको थियो ।
क्यान्सर पीडित ती महिलाको केहिदिन अघि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा परीक्षण गर्दा एन्टिजेन पोजेटिभ देखिएको थियो । पित्त थैलीमा क्यान्सर भएकी उनको एन्टिजेन देखिएपछि उनी घर आएकी थिइन् । कोरोना हो वा होइन भनेर यकिन गर्न बैशाख १९ गते मेची अस्पताल भद्रपुरमा पीसीआर परीक्षण गरिएको थियो । उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको थियो ।रिपोर्ट पोजेटिभ आएपछि घरैमा बसेकी उनको आज बिहान ६ बजे मृत्यु भएको होे । उनका श्रीमानको एक वर्षअघि नै निधन भईसकेको छ । उनका २ जना छोराहरु छन् । एक जना छोरा पनि संक्रमित छन् । मेची अस्पतालमा तीनै जनाको पीसीआर परीक्षण गर्दा एउटा छोराको रिपोर्ट समेत कोरोना पोजेटिभ देखिएको थियो ।

त्यस्तै भद्रपुर ३ का ७० वर्षिय वृद्धको कोरोना संक्रमणबाट हिजो बेलुका मृत्यु भएको छ । बेलुका १०.३० बजे घरमै उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए । हिजो संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल लगिएकोमा अस्पतालले फर्काइदिएको थियो । भद्रपुरमा दोस्रो लहर शुरु भएयता दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १४२ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्