दमक, बैशाख २३ । दमकको एड्भान्स मल्टी ईस्पेसियालिटी अस्पतालले कोरोना संक्रमितको उपचार सुरु गरेको छ ।

सरकारले सबै अस्पताललाई कोरोना संक्रमितको उपचार गर्न र अस्पतालको स्वीकृत क्षमताको आधारमा बेड संख्या छुट्याउन निर्देशन दिएसंगै एड्भान्सले संक्रमितको उपचार सुरु गरेको जनाएको छ । सरकारले तोकेको मापदण्डमा रहेर कोरोना संक्रमितको उपचार सुरु गरिएको अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिए । केहि संक्रमित स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएको र अहिले पनि दुईजना संक्रमितको उपचार भैरहेको उनले जानकारी दिए । सरकारले तोकेकै दरमा उपचार गरिने र मापदण्डलाई पूर्ण पालना गरिने सञ्चालक बरालले बताए ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार संक्रमितको उपचार भैरहेको एड्भान्स अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रविनरत्न रञ्जितकारले बताए । कोरोना भए–नभएको पत्ता लगाउन गरिने एन्टिजेन टेस्ट पनि भैरहेको र संक्रमण देखिएका बिरामीले अस्पतालमै बसेर उपचार गर्न चाहेमा बेड भर्ना गरेर उपचार सुरु गरिएको उनले बताए । बिषेषज्ञ डाक्टर निमा शेर्पा नेतृत्वको चिकित्सकसहितको टिमले संक्रमितको उपचार गरिरहेको रञ्जितकारले जानकारी दिए । अस्पतालका नियमित सेवामा बाधा नपर्ने गरी र अन्य रोगको उपचार गर्न आएका बिरामीलाई जोखिम नहुने गरी छुट्टै भवनमा संक्रमितको उपचारको लागि वार्ड स्थापना गरिएको अस्पतालका मेट्रोन अनिता उप्रेतीले जानकारी दिइन् । कोरोना संक्रमितको उपचारका साथै नियमित स्वास्थ्य उपचार पनि भैरहेको उनले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्