भद्रपुर, बैशाख २५ । झापामा निषेधाज्ञालाई अझ कडा पारिएको छ । यसअघि चौबीसै घण्टा सञ्चालनको अनुमति पाएको निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका लागि समय तोकिएको छ ।

शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र झापाको बैठकले निर्माण सामग्री बोकेका टिपर तथा ट्रयाक्टर लगायतलाई बिहान ६ बजेदखि १० बजेसम्म र बेलुका पनि ६ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै, काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने नेपालीका लागि नयाँ बसपार्क क्षेत्रमा होल्डिङ सेन्टर बनाउन जग्गा उपलब्ध गराउने निर्णय भएको केन्द्रका सदस्य तथा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । त्यहाँ नेपाली सेनाले १ हजार बेड क्षमताको अर्ध–अस्थायी प्रकृतिको होल्डिङ स.न्टर निर्माण गर्दैछ । बैठकले एम्बुलेन्स, शव बाहनलगायत अन्य कुनै पनि सवारी साधनहरुले तोकिएकोभन्दा बढी भाडा असुली गरिएको पाइएमा कडा कारबाही गर्ने निर्णय गरेको छ । कोरोना महामारीको बेला एम्बुलेन्स र शवबाहनले अत्याधिक चर्को भाडा असुलिरहेको गुनासो आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्