गौरीगञ्ज ,बैशाख २५ । गौरीगञ्ज गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मखना महतोले पत्रकारमाथि दुर्व्यबहार गरेका छन् ।

वडाध्यक्ष महतोले गौरीगञ्ज दर्पण डटकमका सम्पादक मदन राजवंशीमाथि दुव्र्यबहार गर्दै क्यामेरा समेत खोस्न खोजेका थिए । निर्माणाधीन हुलाकी राजमार्गको नाला सो वडामा केही व्यक्तिहरुको स्वार्थका लागि बाङ्गोटिङ्गो बनाउन थालेपछि पत्रकार राजवंशीले भिडियो रिपोर्टिङ गरेका थिए ।


गौरीगञ्ज दर्पण डटकमको अफिसियल फेसबुक पेज र युट्युब च्यानलबाट सो रिपोर्ट बिहीबार प्रसारण भएपछि सामाजिक सञ्जालमा सो बाङ्गोटिङ्गो सडक र गौरीगञ्जका जनप्रतिनिधिहरुको निकै आलोचना भएको थियो । शनिबार बिहान गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र वडाध्यक्ष महतो सो सडक हेर्न गएका थिए । उनीहरु त्यहाँ पुगेपछि स्थानीयहरुले नाला र बाटोको कामको बिरोध गरेकाथिए । सोही क्रममा पत्रकार राजवंशीले रिपोर्टिङका लागि भिडियो खिचिरहेको बेला वडाध्यक्ष महतोले क्यामेरा खोस्न खोजेका थिए । उनले गौरीगञ्ज दर्पणमा प्रसारण भएको भिडियो रिपोर्टको बिषयलाई लिएर राजवंशीलाई गालीगलोज समेत गरेका छन् ।

गौरीगञ्ज वडा नं ३ को बजार क्षेत्रमा गेउरिया पुलदेखि नहरसम्म वडाध्यक्ष महतोकै अदुरदर्शिताका कारण लामो समयदेखि बाटो विवादित बनेको आरोप छ । विवाद सिर्जना भएको एक वर्षपछि गत फागुन २४ गते नापी कार्यालय दमकको प्रतिनिधिले सो सडक नक्सा अनुसार नापेर सीमा निर्धारण गरेका थिए । तर गत चैतदेखि सो विवादित खण्डमा नहर पश्चिम चोकसम्म काम शुरु गर्दा नापी कार्यालयको नापलाई समेत अटेर गरी वडाध्यक्ष महतोकै नेतृत्वमा बाङ्गोटिङ्गो नाला खन्न थालिएको थियोे । नाला बाङ्गोटिङ्गो खन्न थालेपछि स्थानीय युवा निरज शर्माले बिरोध गर्दा उनलाई वडाध्यक्ष महतोले ‘तिमी मान्छे उचाल्ने काम नगर’ भनी उल्टै हप्काएको बताइएको छ ।
शनिवार पनि रिपोर्टिङ का क्रममा रहेका पत्रकार राजवँशीले सो बाटो किन बाँगोटिँगो वनाएको बारे कुरा उठाउदा वडाध्यक्ष महतो पत्रकार माथि जाईलागेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्