झापा , बैशाख २९ । झापाका ६ जना कोरोना संक्रमितको एकैदिन मृत्यु भएको छ ।

मेचीनगरका २ सहित तीनजनाको मृत्यु भएको पुष्टि भएलगत्तै फेरि ३ जनाको मृत्यु भएको थप विवरण प्राप्त भएको छ । पछिल्लो पटक मृत्यु हुनेहरुमा बिर्तामोड , मेचीनगर र भद्रपुरका एक–एकजना रहेका छन् । बिर्तामोड १ की ५३ वर्षिया महिलाको आज बिहान बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । उपचारका क्रममा ती महिलाको बिहान २ बजे मृत्यु भएको नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले जानकारी दिए । योसँगै नयाँ भेरियन्टबाट बिर्तामोडमा ५ जनाको मृत्यु भएको छ । त्यस्तै मेचीनगर ६ का ५६ वर्षिय पुरुषको आज दिउँसो बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको छ । उनलाई बैशाख २६ गते अस्पतालमा भर्ना गरिएको थियो ।त्यसैगरी भद्रपुर ९ की ८८ वर्षिया बृद्धाको होम आइसोलेसनमा मृत्यु भएको छ । यसअघि कोरोना संक्रमणका कारण मेचीनगरमा दुई जनाको मृत्यु भएको थियो ।
मृत्यु हुने दुवैजना मेचीनगर वडा नं. १० का स्थानीय रहेको वडा अध्यक्ष सुवेशकुमार पनेरुले जानकारी दिए । मृत्यु हुनेमा मेचीनगर १० का ३९ बर्षिया राजवंशी समुदायकी महिला र ६६ बर्षिय श्रेष्ठ थरका पुरुष रहेको वडा अध्यक्ष पनेरुले बताए । हिजो बेलुका ७.३० बजे महिलाको मेची अस्पताल भद्रपुरमा र पुरुषको राति ९ बजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारकै क्रममा मृत्यु भएको हो । योसंगै कोरोनाको दोस्रो लहर शुरु भएयता मेचीनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । मेचीनगर ६ का ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

त्यस्तै आज बिहान कचनकवल ५ का एक कोरोना संक्रमित बृद्धको मेची अस्पतालमा मृत्यु भएको छ । राजवंशी समुदायका ७० वर्षिय बृद्धको उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १६५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्