झापा , बैशाख २९ । पछिल्लो चौवीस घण्टामा झापाका ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मेचीनगर र भद्रपुरका ३–३ जनासहित आठजना संक्रमितको मृत्यु भएको हो । त्यसमा बिर्तामोड र कचनकवलका एक–एकजना रहेका छन् । मेचीनगर ६ का ६० वर्षिय पुरुषको बुधबार दिउँसो बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको हो । उनलाई बैशाख २६ गते अस्पतालमा भर्ना गरिएको थियो । त्यस्तै मेचीनगर १० का दुईजना संक्रमितको मृत्यु भएको वडा अध्यक्ष सुवेशकुमार पनेरुले जानकारी दिए । मृत्यु हुनेमा मेचीनगर १० का ३९ बर्षिया राजवंशी समुदायकी महिला र ६६ बर्षिय श्रेष्ठ थरका पुरुष रहेको वडा अध्यक्ष पनेरुले बताए । मंगलबार बेलुका ७.३० बजे महिलाको मेची अस्पताल भद्रपुरमा र पुरुषको राति ९ बजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारकै क्रममा मृत्यु भएको हो । योसंगै कोरोनाको दोस्रो लहर शुरु भएयता मेचीनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । मेचीनगर ६ का ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।त्यस्तै भद्रपुरका ३ जना संक्रमितको मृत्यु भएको छ । भद्रपुर ९ की ८८ वर्षिया बृद्धाको होम आइसोलेसनमा मृत्यु भएको छ । त्यस्तै भद्रपुर ४ का दाहाल थरका ४९ वर्षिय संक्रमितको बुधबार दिउँसो ३ बजे नोवेल हस्पिटल विराटनगरमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले जानकारी दिए । त्यस्तै भद्रपुर ४ का राजवंशी समुदायका ४८ वर्षिय पुरुषको मंगलबार बेलुका ४.४५ बजे मृत्यु भएको छ । बिर्तामोडको बिएण्डसी हस्पिटलबाट मेची अस्पताल पु¥याउनासाथ उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका भट्टराईले बताए । योसहित भद्रपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ ।

त्यस्तै बिर्तामोड १ की ५३ वर्षिया महिलाको बुधबार बिहान बिएण्डसी हस्पिटलमा मृत्यु भएको छ । उपचारका क्रममा ती महिलाको बिहान २ बजे मृत्यु भएको नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले जानकारी दिए । योसँगै नयाँ भेरियन्टबाट बिर्तामोडमा ५ जनाको मृत्यु भएको छ । त्यस्तै बुधबार बिहान कचनकवल ५ का एक कोरोना संक्रमित बृद्धको मेची अस्पतालमा मृत्यु भएको छ । राजवंशी समुदायका ७० वर्षिय बृद्धको उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १६६ पुगेको छ ।
दमकमा दुई संक्रमितको मृत्यु
दमकमा बुधबार दुईजना संक्रमितको मृत्यु भएको छ । दमक कोभिड अस्पतालमा मोरङको उर्लाबारी राजघाटकी ४६ बर्षिया महिला र आम्दा अस्पताल दमकमा रुपन्देहीका ६५ बर्षिय पुरुषको मृत्यु भएको हो । दमक अस्पतालकी सूचना अधिकारी देवी दंगालका अनुसार ती महिलाको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । दमकका ४ वटा अस्पतालमा अहिले ६३ जना कोभिडका बिरामीको उपचार भइरहेको दंगालले जानकारी दिइन् । दुईजना लाइफलाइन अस्पतालको भेन्टिलेटरमा उपचाररत छन् । तीमध्ये १३ जना झापा बाहिरका हुन् ।
बिर्तामोडका ९० सहित एकैदिन ३७१ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा झापामा ३७१ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआरतर्फ ३२५ र एन्टिजेनतर्फ ४६ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआरतर्फ महिला १६४ र पुरुष १६१ तथा एन्टिजेनतर्फ २५ महिला र २१ जना पुरुष संक्रमित भएका हुन् । सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ४९ महिलासहित ९० जना संक्रमित भएका छन् ।जसमा २ महिला र ६ जना पुरुष एन्टिजेन पोजेटिभ हुन् भने ४७ महिला र ३५ पुरुषको पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएको हो । यस्तै, भद्रपुरमा २१ महिलासहित ५६ जना, अर्जुनधारामा २४ महिलासहित ५० जनामा संक्रमण पुष्टि भएको छ ।जसमा पीसीआरतर्फ १३ महिलासहित ३४ जना, एन्टिजेनमा ११ महिलासहित १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । मेचीनगरमा १६ महिलासहित ३१ जना, कनकाईमा १५ महिलासहित २४ जना, दमकमा १२ महिलासहित २२ जना, बुद्धशान्तिमा ११ महिलासहित २० जनामा संक्रमण पुष्टि भएको छ ।कोभिड फोकल पर्सन जीवन चौंलागाईका अनुसार गौरादहका १० महिलासहित १८ जना, कमलमा ७ महिलासहित १३ जना, शिवसताक्षीमा ६ महिलासहित १२ जना, बाह्रदशीमा १ महिलासहित ५ जना, कचनकवलमा २ महिलासहित ५ जना, झापामा ३ महिलासहित ४ जना, पालिका नखुलेका ५ महिलासहित ८ जनामा पनि संक्रमण पुष्टि भएको छ ।योसँगै पीसीआरतर्फ ४ हजार ९९२ र एन्टिजेनतर्फ ३०५ जना कूल संक्रमित भएका छन् । यस्तै, ४ हजार ६९२ जना निको भएर घर फर्किएका छन् । विभिन्न आइसोलेसनमा २ हजार १४१ जना सक्रिय संक्रमित छन् ।
१२२ जना कोरोना संक्रमितको उपचार
झापाका विभिन्न अस्पतालहरुमा १२२ जना कोरोना संक्रमितहरुको जेनेरल बेडमा उपचार भइरहेको छ । मेची अस्पतालमा ३४ , दमक हस्पिटलमा १० , बिएण्डसी हस्पिटलमा ४१ , बिर्तासिटी हस्पिटलमा १३ , आम्दा हस्पिटलमा १५ , एड्भान्स हस्पिटलमा ९ जना संक्रमितहरुको जेनेरल बेडमा उपचार भइरहेको जनाइएको छ । संक्रमितहरुका लागि मेची अस्पतालमा ९८ , दमक हस्पिटलमा ३० , बिएण्डसी हस्पिटलमा २०० , बिर्तासिटी हस्पिटलमा ४६ ,आम्दा हस्पिटलमा १५ , एड्भान्स हस्पिटलमा १० र निम्स हस्पिटलमा ७ गरी ४०६ वटा जेनेरल बेडको व्यवस्था गरिएको छ । त्यस्तै जिल्लाका अस्पतालमा ७९ वटा आइसियूको व्यवस्था गरिएकोमा ४३ जना उपचाररत रहेका छन् भने ९८ वटा एचडियूमा ४५ जना उपचाररत रहेको जनाइएको छ । त्यस्तै जिल्लाका अस्पतालहरुमा ४९ वटा भेन्टिलेटर रहेका छन् । त्यसमध्ये ६ वटामा संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्