झापा , बैशाख ३० । झापा भद्रपुरका ३१ वर्षीय आशिष शर्माले युरोपकै प्रतिष्ठित विश्वविद्यालयबाट इन्टरनेशनल बिजनेस एन्ड मार्केटिङमा व्यावसायिक विद्यावारिधिको उपाधि हासिल गरेका छन्।

शर्माले फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेशनल युनिभर्सिटीबाट उक्त उपाधि हासिल गरेका हुन्। शर्मा सिंगापुर बेभरेजेज नेपाल प्रालिका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर छन् । गत अप्रिल २४ मा माल्दिभ्स्मा भएको एक समारोहबीच शर्मालाई फाइभ स्टार रेटिङको युरोपियन विश्वविद्यालयले उक्त उपाधि प्रदान गरेको हो। युरोपको विश्वविद्यालयबाट यो उपाधि कम उमेरमै हासिल गर्ने शर्मा पहिलो नेपाली हुन् । यसअघि नेपाल उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष भवानी राणा र वृहत् ग्रुपका अध्यक्ष ओमबहादुर भण्डारीले यो उपाधि हासिल गरेका थिए। नेपाल उद्योग परिसंघका हालका सीएनआई अध्यक्ष सतिश मोरले पनि यो सम्मान पाएका छन् ।
शर्मालाई टाइम्स इन्टरनेशनल एक्सिलेन्स अवार्ड फर इन्टेरनेशनल कर्पोरेट एन्ड बिजनेस एक्सिलेन्स २०२१ बाट सम्मानित गरियो।
भद्रपुरमा जन्मेका शर्माले भद्रपुरस्थित सिद्धार्थ शिशु सदन र बिर्तामोडस्थित लिटल फ्लावर्स इंग्लिस स्कुलबाट विद्यालय शिक्षा पूरा गरेका थिए । साउथ एशियन इन्स्टिच्यूट अफ म्यानेजमेन्ट (एसएआईएम कलेज) बाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक गरेका शर्माले दुबईस्थित वलङगोङ विश्वविद्यालयबाट इन्टरनेशनल बिजनेसमा स्नातकोत्तर तह पूरा गरेका थिए। शर्मा शिक्षाका लागि विभिन्न देश पुगेका थिए । अन्ततः उनले स्वदेशमै फर्किएर देशको अर्थतन्त्रमा टेवा पुर्याउने निधो गरे । उनलाई पढाइ पूरा गरेपछि यूएईमै जागिरको निम्तो दिइएको थियो तर, उनले मानेनन्।
नेपाल फर्किएपछि शर्माले सिंगापुर बेभरेजेज नेपाल प्रालि स्थापना गरे। यो कम्पनी समृद्ध र विकसित नेपालको परिकल्पनाका साथ स्थापना गरिएको हो। जब शर्माले रोयल्टीका नाममा देशबाट थुप्रै धनराशि बाहिरिरहेको पत्ता लगाए, तब उनले त्यसलाई रोक्न प्रण गरे र मेड इन नेपाल इन्टरनेशनल प्रोडक्ट निर्माणको थालनी गरे।
शर्माद्वारा स्थापित सिंगापुर बेभरेजेजले सन् २०१७ बाट कार्बोनेटेड सफ्ट ड्रिंकको उत्पादन सुरु गर्यो। यो उच्च गुणस्तरीय उत्पादनले सिंगापुर बेभरेजलाई विश्व बजारमा निकै परिचित गरायो।
सन् २०१९ मा यो कम्पनीले जिरु र जिरा मसला लन्च गर्यो । जुन जिरा र बिरेनुन समिश्रित सफ्ट ड्रिंकमा आधारित थियो । यी उत्पादन नेपालभर निकै लोकप्रिय बने। यस्तै कडा मेहनत र देशप्रतिको मायाले शर्मा देशमा मात्र नभएर विश्वमै परिचित छन्।