झापा , बैशाख ३१ । झापामा कोरोना संक्रमितको मृत्युदर घटेको छ ।

केही दिनदेखि प्रत्येक दिन ४–५ जनाको दरले कोरोना संक्रमणबाट मृत्यु हुने गरेको झापामा शुक्रबार एक जनाले ज्यान गुमाउनु परेको छ । दुई दिनअघि एकैदिन ८ जनाको मृत्यु भएको थियो । शुक्रबार अर्जुनधाराका एक कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अर्जुनधारा ९ का गुरागाई थरका ५२ वर्षिय पुरुष रहेका छन् । एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएका उनको बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए ।योसँगै अर्जुनधारामा कोरोना संक्रमणको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ४ पुगेको छ । जिल्लामा भने कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १७१ पुगेको छ ।
झापामा पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार संख्या थोरै घटेको छ । बिहीबार २७६ जनालाई संक्रमण देखिएकोमा शुक्रबार केही घटेको छ । पछिल्लो २४ घण्टाभित्र झापामा २१३ जना संक्रमित थपिएका हुन् । जसमा १९९ जना पीसीआर र १४ जना एन्टिजेन परीक्षणबाट पोजेटिभ आएको हो ।संक्रमितमध्ये ९१ जना महिला छन् । सबैभन्दा बढी दमकका ४४ जनामा संक्रमण पुष्टि भएको हो । जसमा २० महिला र २४ पुरुष छन् । यस्तै, मेचीनगरका १६ महिलासहित ३९ जना, बिर्तामोडका १९ महिलासहित ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।यसैगरी, भद्रपुरमा ४ महिलासहित १८ जना, कनकाईमा ९ महिला र ९ पुरुष, अर्जुनधारामा ४ महिलासहित १६ जना, बुद्धशान्तिमा ८ महिलासहित १४ जना, शिवसताक्षीमा ४ महिलासहित ९ जना, कचनकवलमा २ महिलासहित ६ जनामा संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिएका छन् ।यस्तै, हल्दिबारीमा १ महिलासहित ५ जना, बाह्रदशी र झापा गाउँपालिकामा १–१ जना महिला र पालिका नखुलेका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।योसँगै कुल संक्रमित संख्या ८३७३ पुगेको छ भने निको हुनेको संख्या ४७५५ जना रहेका छन् । यस्तै, सक्रिय संक्रमित भई विभिन्न आइसोलेसनमा उपचाररतको संख्या २४६५ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्